माेरङ कारागारका ५४ कैदीबन्दीमा काेराेना संक्रमण पुष्टि

२०७९, १ श्रावण आईतवार १०:०७

माेरङ- विराटनगरस्थित जिल्ला कारागार मोरङमा रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। गत बिहीबार करिब १९ जना कैदीबन्दीमा उच्च ज्वरो देखिएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गर्दा कोरोना फैलिएको पुष्टि भएको थियो। त्यसयता ३५ जना नयाँ कैदीबन्दीमा संक्रमण पुष्टि भएको हो।

शुक्रबार १९ जनाको पुष्टि भएपछि पछिल्लोपटक ४८ जनाको परीक्षण गरिएको थियो। जसमा ३५ जनामा कोरोना पुष्टि भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

प्रजिअ दाहालले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि १३ जनाको रिपोर्ट नेगेटिभ आएको बताए। हाल स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि संक्रमित कैदीबन्दीलाई विराटनगर १० स्थित कोशी कोभिड अस्पतालमा भर्ना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

यसअघि शुक्रबार पोजेटिभ देखिएका संक्रमणको सोही अस्पतालमा उपचार जारी भइरहेको छ। एकैपटक धेरै संख्यामा कैदीबन्दीमा संक्रमण फैलिएसँगै प्रशासनले कारागारमा रहेका अन्य कैदीबन्दीलाई समेत कोरोना परिक्षण गरिने तयारी भइरहेको दाहालले जानकारी दिए।

कारागारमा पुराना कैदीबन्दीलाई भ्याक्सिन लगाइएको भए पनि नयाँ आएका कतिपयको भ्याक्सिन रिपोर्ट उपलब्ध हुन नसकेको देखिएको छ। कारागार व्यवस्थापनका अनुसार संक्रमितलाई उपचारका लागि अस्पताल लैजाने र शंकास्पदलाई भने कारागार भित्रै फरक स्थानमा राखिनेछ।

यद्यपि संक्रमितलाई भने कारागारमा नराखिने कारागार व्यवस्थापनको भनाइ छ।

महिला र पुरुष गरी करिब ३ सय क्षमताको कारागारमा १ हजार १२ जना कैदीबन्दी राखिएको छ। जसकारण संक्रमण थप फैलिन सक्नेतर्फ प्रशासन सचेत रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु