डलर कार्डमार्फत भुक्तानी व्यवस्थामा पुनर्विचार

२०७८, ३ चैत्र बिहीबार २०:०७

काठमाडौँ: पछिल्लो ११ महिनामा डलर कार्डबाट मात्र करिब २३ लाख अमेरिकी डलर बाहिरिएको छ । विदेशबाट आयातित विभिन्न वस्तु तथा सेवाबापत्को अनलाइन भुक्तानीका लागि गत चैतदेखि माघसम्ममा डलर कार्डबाट मात्र २२ लाख ८७ हजार अमेरिकी डलर मुलुकबाट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिअमेरिकी डलर १ सय २० रुपैयाँ विनिमय दरका हिसाबले गणना गर्दा उक्त अवधिमा कार्डमार्फत २७ करोड ४४ लाख ४० हजार रुपैयाँ बाहिरिएको बताइएको छ ।
गत चैतमा नेपालबाटै कार्डमार्फत विदेशी मुद्रामा भुक्तानी गर्न पाउने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको थियो । उक्त व्यवस्था भएदेखि गत माघसम्म कुल २२ लाख ८७ हजार अमेरिकी डलर बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत माघसम्म कुल २१ हजार वटा यस्ता कार्ड जारी भएका छन् । ती कार्डमा करिब ४६ लाख १२ हजार अमेरिकी डलर भरिएको (लोड भएको) छ ।

लोड भएकोमध्ये करिब २३ लाख अमेरिकी डलर भुक्तानी भइसकेको छ । मासिक रूपमा औसत १ हजार ९ सय ९ वटा यस्ता कार्ड जारी भएको देखिन्छ । तिनमा मासिक औसत ४ लाख २० हजार अमेरिकी डलर लोड भएको र २ लाख ८ हजार डलर खर्च भएको देखिन्छ । यस अवधिमा सर्वसाधारणले विदेशबाट खरिद गरेका पुस्तक, दैनिक पत्रपत्रिका, खेलौना, सूचना प्रविधि सेवा आदिबापत्को भुक्तानी कार्डमार्फत गरेको राष्ट्र बैंकले बताइएको छ ।
कार्डमार्फत ५ सय अमेरिकी डलरसम्म विदेशी मुद्रामा भुक्तानी गर्न पाउने व्यवस्थापछि मुलुकमा विदेशी मुद्रा भित्रिने दाबी राष्ट्र बैंकले गरेको थियो । यद्यपि गत माघसम्म नगण्य परिमाणमा विदेशी मुद्रा भित्रिएको राष्ट्र बैंक स्रोतले स्विकारेको छ । ‘केही वर्षयता नेपालबाटै विदेशीमा सूचना प्रविधिसम्बन्धी काम गर्ने जमात बढ्दो छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसकारण ती मानिसहरुमार्फत विदेशी मुद्रा भित्रिने अपेक्षा थियो । तर अपेक्षाअनुसार आएन ।’

विदेशी मुद्रा नआउने तर बाहिरिने मात्र भएपछि उक्त व्यवस्था पुनर्विचार गर्ने सम्बन्धमा पनि छलफल भएको राष्ट्र स्रोतले बताएको छ । ‘कार्डमार्फतको भुक्तानीलाई सूक्ष्म रूपमा हेरिरहेका छौं,’ स्रोतले भन्यो, ‘बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र संकटोन्मुख रहेको अवस्थामा कार्डमार्फतको भुक्तानी गर्ने विद्यमान व्यवस्थामा पनि पुनर्विचारको चर्चा चलेको छ ।’

कोभिडका कारण गत मुलुकको अर्थतन्त्र ठप्प थियो । विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च थियो । त्यही समयमा राष्ट्र बैंकले कार्डमार्फत नेपालबाटै ५ सय अमेरिकी डलर बराबरको भुक्तानी कार्डमार्फत गर्न सक्ने व्यवस्था गरिएको हो ।

चालु आर्थिक वर्षको ७ महिनामा विदेशी मुद्रा सञ्चिति २ खर्ब २६ अर्ब रुपैयाँले घटेको छ । गत असारको तुलनामा माघसम्म विदेशी मुद्रा सञ्चिति नेपाली मुद्रामा करिब १६ र अमेरिकी डलरमा करिब १७ प्रतिशत घटेको छ । गत माघसम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ छ । गत असारमा यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो ।

‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । २०७८ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत छ ।

चालु आर्थिक वर्षको ७ महिनासम्मको आयातलाई आधार मान्दा मुलुकमा रहेको कुल विदेशी मुद्रा सञ्चितिले ७.४ महिनालाई पुग्ने वस्तु र ६.७ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पुग्ने दाबी राष्ट्र बैंकले गरेको छ । यो राष्ट्र बैंकको वार्षिक लक्ष्यभन्दा कम हो । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कम्तीमा ७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति राख्ने लक्ष्य तय गरेको थियो ।

डलर कार्डमार्फत विदेशी मुद्रामा बैंक खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत नभएका सर्वसाधारणले पनि वार्षिक ५ सय अमेरिकी डलर बराबरको भुक्तानी विदेशी मुद्रामा गर्न पाउँछन् । सर्वसाधारणले आफ्नो खाता रहेको वाणिज्य बैंक वा विकास बैंकमा गएर ‘प्रिपेड कार्ड’ बनाउनुपर्छ । सोही कार्डमार्फत विदेशबाट खरिद गरेको सामानको भुक्तानी अनलाइनबाट कार्डमार्फत विदेशी मुद्रामै गर्न सकिन्छ ।

यस्तो कारोबारका लागि वार्षिक अधिकतम ५ सय अमेरिकी डलरको सीमा तय गरिएको छ । सर्वसाधारणले एकै पटक वा पटकपटक गरी एक वर्षमा उल्लिखित सीमा बराबरको भुक्तानी मात्र विदेशी मुद्रामा गर्न पाउँछन् ।

यस्तो कारोबारमा तोकिएको सीमाभित्र रहेर नेपालको कानुनले वञ्चित नगरेका सबै प्रकारका वस्तु तथा सेवा खरिद गर्न सकिने प्रावधान छ । यी कार्डबाट एटीएम कार्डबाट जस्तो नगद निकाल्न भने पाइँदैन । विदेशबाट सामान खरिद गर्दा विद्युतीय माध्यमबाट भुक्तानीका लागि मात्र कार्ड प्रयोग गर्न पाइन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु