काठमाडौँ: शक्तिखोरमा माओवादी लडाकूलाई दिएको प्रशिक्षणको भिडियो सार्वजनिक भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को चेहराको मुकुन्डो उत्रियो । यद्यपि, त्यसअघि नै उनले धेरैलाई बेवकुफ बनाइसकेका थिए ।
शान्ति प्रक्रियामा आउनुअघि उनको ‘ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति’ खुबै चर्चित थियो । शक्तिखोरमा कार्यकर्ता प्रशिक्षणको भिडीयोमा उनले भनेका थिए, ‘यथार्थमा त हामीले (संविधानसभा) चुनाव चाहेका होइनौं, हाम्रो उद्देश्य त सत्ता कब्जा नै हो । तर हामीले बाहिर चुनाव–चुनाव भनेर माओवादीले साँच्चिकै चुनाव चाहेको भन्ने बनाउने; यिनले त अहिले चुनाव गराउन सक्ने अवस्था छैन, चुनाव नभएपछि त विद्रोह हुन्छ…’
उनले माओवादीले बाहिर (रूप)मा एउटा कुरा गरे पनि सार (भित्री रणनीति)भने नबदलिने भन्दै कार्यकर्तालाई आश्वस्त पारेका थिए । सबैलाई उपयोग गर्ने र अलमल्याउँदै आफ्नो लक्ष्य भेदनमा हिँडेका प्रचण्डको राजनीतिक जीवनमा धेरै उतारचढावहरू आएका छन् । तर भित्री रणनीतिमा अर्थात् सारमा उनी बेग्लै छन् ।
हुन त प्रचण्डको अस्थिर, चन्चले, दोग्ला र रूपमा एउटा अनि सारमा अर्को चरित्रबारे सबै जानकार छन् । भन्नलाई त प्रचण्डले मैंले धेरैलाई बोकें, प्रधानमन्त्री बनाएँ भन्छन् । आफ्नो काम नबन्ने भएपछि एउटालाई धोका दिएर अर्कोलाई उपयोग गर्ने रणनीति अनुसार नै उनले यो काम गरेका हुन् भन्नेमा कुनै सन्देह छैन ।
शान्ति प्रक्रियामा आएपछि प्रचण्डले सबैभन्दा पहिले नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई धोका दिए । पहिलो संविधानसभाको निर्वाचनअघि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको आशा देखाए । त्यही चास्नीमा भुलिएर कोइराला कांग्रेसको निर्वाचन प्रचार–प्रसारमा समेत सहभागी भएनन् । जब निर्वाचन भयो र माओवादीको पक्षमा बहुमत आयो, तब दाहालले गिरिजाप्रसाद कोइरालासँग सम्बन्ध विच्छेद गरे । उनले राष्ट्रपतिमा रामराजाप्रसाद सिंहलाई अघि सारे । प्रचण्डको यो व्यवहारले मुलुकको राजनीतिक कोर्स सरल रूपमा अघि बढ्न सकेन ।
आफ्नो सर नपर्दासम्म घुस्रिने र मुन्टो उठाउने वातावरण तयार गर्ने अनि अनुकुल परिस्थिति भएपछि आफ्नो उद्देश्यतिर लम्किहाल्ने प्रचण्डको पुरानै आदत हो ।
प्रचण्डका मागका सम्बन्धमा टिप्पणी गर्दै तिनताका एमालेका नेता केपी शर्मा ओलीले भनेका थिए– ‘माओवादी हात्ती किन्दे भन्छ । किनेर दियो; फेरि झोला किन्दे भन्छ । त्यो पनि किनेर दियो; अब हात्ती झोलामा हाल्दे भन्छ । त्यो त सकिदैंन नि !’
ओलीलाई पनि प्रचण्डले एकपटक होइन, दुई पटक झुक्याइसकेका छन् । संविधान जारी भएपछि उनले ओलीको नेतृत्वमा सरकार बनाउन सघाए, पछि फेरि उनको सरकार गिराएर नेपाली कांग्रेससँग साझेदारी गर्दै शेरबहादुर देउवासँग सत्ता साझेदारी गरे । फेरि आम निर्वाचनमा देउवाको सरकारमा सामेल हुँदाहुँदै माओवादीले प्रतिपक्षी नेकपा एमालेसँग चुनावी सहकार्य गर्दै पार्टी एकता समेत गर्ने घोषणा गर्यो ।
सरकारको साझेदार दल सरकारमै रहेर प्रतिपक्षी पार्टीसँग चुनावी तालमेल अलि नसुहाउने कुरा हो । तर सत्ता र सडक दुवैतिर देखिने चलनलाई पनि प्रचण्डले नेपाली राजनीतिमा सामान्य बनाइदिए । आफ्नो राजनीतिक स्पेस खोज्ने, त्यसलाई विस्तार गर्ने प्रचण्डको घोषित नीति हो । यही क्रममा उनले तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकता गरेका थिए ।
तर त्यहाँभित्र भागबन्डा नमिलेपछि पुनः दाहाल एकीकृत पार्टीभित्रको असन्तुष्ट खेमाको नेतृत्व गरेर अर्का अध्यक्ष केपी ओलीसँग भीड्न तम्सिए । फलतः मुलुक अस्थिर राजनीतिको चक्रमा परिरह्यो । दाहालले आफू निकटहरूसँग भद्रगोलमै गोल हान्न सहज हुने बताउने गरेका छन् । यसरी गोल हान्ने चक्करमा उनले न्यूनतम मूल्य, मान्यता, मर्यादा र देशको हितलाई समेत नजरअन्दाज गर्दै जानु दुर्भाग्यपूर्ण छ ।
अहिले प्रचण्डले देउवालाई यस्तै प्रस्ताव गरिरहेका छन् । उनी अलमल्याउने, टार्ने र गोलमटोल कुरा गरेर त्यसमै खेल्न चाहान्छन् । अमेरिकी सहयोगसम्बन्धी सम्झौता, एमसीसी कम्प्याक्टलाई लिएर प्रचण्डले कहिले एकथरी कुरा गर्ने, कहिले अर्को प्रस्ताव गर्ने गर्न थालेपछि देउवा आजित भएका छन् ।
पटक–पटक प्रधानमन्त्री भैसकेको व्यक्ति, आफैंले अघि बढाएर ल्याएको सम्झौता, शक्ति राष्ट्रसँगको सम्बन्ध अर्को ठाउँमा छ । उनी समाधानमुखीभन्दा पनि यसमा समस्यामुखी भएर निस्केका छन् ।
अस्थिरता र भद्रगोल भयो भने मात्र आफ्नो राजनीतिक ‘स्पेस’ रहिरहन्छ भन्ने ठानेका प्रचण्ड अन्तहीन अस्थिरताका सर्जक हुन् । बाहिर एउटा र भित्र अर्को कुरा गरेर उनले अनेकन ‘ब्यागेज’ बोकेका छन् । प्रचण्डको यो ढुलमुले चरित्रले उनलाई फाइदा पनि भएको छ, त्यसभन्दा धेरै घाटा भएको छ ।
कुनै समय उनले माधवकुमार नेपालको सरकार ढाल्न र नयाँ दिल्लीको हेपाहा प्रवृत्ति विरुद्ध भन्दै २०६७ वैशाखमा ६ दिन काठमाडौँ उपत्यका ठप्प पारेका थिए । अहिले त्यही चरित्र उनले एमसीसी सम्झौताका सम्बन्धमा पनि दोहोर्याएका छन् । आफैं सरकारमा रहेर आफ्नै कार्यकर्तालाई सडकमा उतारेर पानीको फोहोरा र लाठी खुवाउने नेता सायदै अन्यत्र होला । नयाँ दिल्ली या वासिंगटनको विरोधमा नेपाली जनतालाई दुःख दिने प्रचण्डको यो राजनीति देखेर धेरैले आश्चर्य मान्छन् ।
अर्कोतर्फ मुलुकको विकास बजेटको अधिकांश हिस्सा वैदेशिक सहयोगबाट आउँछ । त्यो वैदेशिक सहयोगमध्ये ठूलो हिस्सा अमेरिका र उसका समर्थित देशहरूबाट आउँछ । त्यसमाथि विशुद्ध विकास आयोजनाका लागि प्राप्त हुन लागेको अनुदानलाई रहस्य र शंकाको विषय बनाइदिएर त्यसलाई गिजोल्ने अपरिपक्व काम गरेर उनले भीडको नेता हुने लालसा राख्नु नै गलत थियो। पार्टीको विचार, सिद्धान्त र कार्यक्रमले आकृष्ट नभएको जनमत यस्ता हौवा र सनसनीबाट कमाउन सकिन्छ भनेर खुला राजनीतिमा आएको यो चरणसम्म प्रचण्डलाई लागिरहनुले उनी राजनीतिका कच्चा खेलाडी सावित हुनसक्छन् ।
अहिले आएर प्रचण्डलाई लाग्यो कि ‘निरन्तरतामा क्रमभंगता’ गर्नुपर्छ । प्रधानमन्त्री देउवालाई फकाउने, अलमल्याउने र गलाउने कुनै तरिका सफल नभएपछि प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग गोप्य छलफल गरेर ‘गठबन्धन जोगाउन पहल गर्ने’ भनेका छन् ।
बुधबारमात्रै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी संसदीय दलले एमसीसी कम्प्याक्ट संसदमा टेबल भए माओवादीले विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय भएको सुनाएका थिए । आज फेरि गठबन्धन जोगाउने भन्दैछन् ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनुपर्नेमा संसदको झण्डै एउटा कार्यकाल बित्न लागिसकेको छ । प्रचण्ड यसलाई चुनावपछि धकेलेर चुनावमा यसैलाई एजेण्डा बनाउन चाहिरहेका छन् । उनले आफूले एमसीसीलाई धकेल्दै आएको र अब निर्णायक अस्वीकारका लागि माओवादीलाई निर्वाचनमा सम्मानजनक जित गराउने वातावरण बनाउन उत्तरी छिमेकी राष्ट्रसँग याचना पो गर्दैछन् कि !
तर अहिले उनले द्वैध चरित्र छाडेर रूपमा पनि र सारमा पनि एउटै चरित्र प्रदर्शन गर्नैपर्ने बाध्यता आइपरेको छ । आफैंले सिर्जना गरेको गोलचक्करमा सबैलाई घुमाइरहेका प्रचण्डका लागि यो निकै जटिल मोड हुनेछ । सत्ता गठबन्धनको आजको बैठकमा प्रचण्ड कसरी प्रस्तुत हुन्छन्, त्यसले उनको आगामी राजनीतिक यात्राको निर्णायक मोड तय गर्नेछ ।