ठेकेदार कम्पनीको लापरबाहीले निर्माणाधीन ढल चुहिन थाल्यो

२०७९, ३२ असार शनिबार ०९:३६

रुकुमकोट बजारको मुख्य ढल निकासको काम गरिरहेको ठेकेदार कम्पनीको लापरबाहीले निर्माणाधीन ढल चुहिन थालेको छ । सिस्ने गाउँपालिका–६ स्थित छिप्रीदहमा निर्माणाधीन ढल चुहिन थालेपछि स्थानीयले विरोध जनाएका छन् । पालिकाले पनि यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा छिप्रीदह–सेराखेत ढल निकासको कामको जिम्मा पाएको निर्माण व्यवसायी रञ्जित रञ्जन कन्ट्रक्सन प्रालि गुल्मीको लापरबाहीका कारण ढल निकास कच्ची भएको स्थानीयले बताएका छन् ।
ढल निकासको काममा गुणस्तरीयता नभएको गुनासोपछि उक्त योजनाको अनुगमन पनि गरिएको छ । पालिका उपाध्यक्ष गोपाल रेउले नेतृत्वको टोलीले गरेको अनुगमनमा काममा त्रुटि पाइएको छ । विशेष गरी ह्युम पाइप जडानमा त्रुटि भेटिएको रेउलेले बताए ।

ठेकेदार कम्पनीले चालु आर्थिक वर्षमा भ्याटबाहेक १ करोड ३७ लाख रुपैयाँमा ५ सय ५ मिटरमा ढल निकासको जिम्मा पाएको थियो । ०७८ माघमा सम्झौता गरी काम सुरु गरेको कम्पनीले सेराखेतमा ढल पाइपलाई राम्रोसँग नजोड्दा समस्या भएको हो । जसका कारण बजारभरिको फोहोर किसानका खेतबारीमा बग्ने गरेको छ ।

अनुगमनपछि त्रुटि भएको ठाउँमा पुनः काम गर्न निर्माण कम्पनीलाई सम्पर्कमा आउन निर्देशन भएको छ । निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएकाले सम्पर्कमा ल्याएर काम गर्न निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष रेउलेले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु