भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन

२०७८, ४ फाल्गुन बुधबार १५:१५

काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बलिउडमा आफ्नो ५० वर्ष लामो करिअरमा ६५० भन्दा बढी फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी यस्ता गायक थिए, जसले आफ्नो रुपरंगको ‘कपिराइट’ गराएका थिए ।

अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो ।

उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए । ‘डिस्को किङ’ भनेर चिनिने बप्पीका ‘आई एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित छन् । उनको पछिल्लो बलिउड गीत चलचित्र ‘बागी ३’को ‘भंकस’ हो ।

बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो । बप्पीको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता, संगीतकर्मी, चलचित्रकर्मी लगायतले शोक व्यक्त गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु