आज नेपाल बन्दको घोषणा, किन र के को लागि !

२०७८, ४ फाल्गुन बुधबार ०७:२८

काठमाडौं: एमसीसी सम्झौताविरुद्ध पाँच वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरूले बन्दको घोषणा गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् ।

मङ्गलबार अपराह्न संयुक्त जारी गरिएको विज्ञप्तिमा भनिएको छ- नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् एमसीसी कम्प्याक्टका पिछलग्गुहरूबीचको पेचिलो सङ्घर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवम् जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेको र उक्त राष्ट्रघाती षड्यन्त्रविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गर्नु आवश्यक छ ।

यता सरकारले भने शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरू हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु