अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रथम श्रीमती इभाना ट्रम्पको निधन

२०७९, ३१ असार शुक्रबार १७:१२

काठमाडौँ: अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रथम श्रीमती इभाना ट्रम्पको निधन भएको छ । इभानाको ७३ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इभाना एक अद्भुत र सुन्दर महिला भएको तथा उनले महान र प्रेरणादायी जीवन बिताएको बताए ।

चेक रिपब्लिकमा जन्मिएकी इभानाले सन् १९७७ मा डोनाल्डसँग विवाह गरेकी थिइन् भने सन् १९९२ मा १५ वर्षपछि उनीहरु छुटिएका थिए । उनीहरुका तीन सन्तान थिए ।

डोनाल्ड इभानाकी दोस्रो श्रीमान् थिए । स्की खेलाडी इभानाकी पहिलो श्रीमान अल्फ्रेड विङकीमार थिए । उनी पनि स्की खेलाडी तथा प्रशिक्षक थिए । इभानाले पछि थप दुई विवाह गरेकी थिइन् ।

यता डोनाल्डले भने सन् १९९३ मा मार्ला मापल्ससँग विवाह गरेपछि सन् १९९९ मा छुट्टिएका थिए । डोनाल्डले सन् २००५ मा मेलानिया ट्रम्पसँग विवाह गरे ।

Comments

ताजा खबर