बोनस सेयर घोषणा गरेको टेलिकमको मूल्य ५% घट्यो

२०७८, १ चैत्र मंगलवार १५:३२

काठमाडौँ: मंगलबार सेयर बजारको परिसूचक नेप्से २६५० अंकमा झरेको छ । १७.१५ अंक घटेर परिसूचक साढे २६ सय अंकमा कायम भएको हो । कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । कुल ५२ कम्पनीको मूल्य बढ्यो भने १३० को घट्यो । ११ को मूल्य भने स्थिर रह्यो ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । सगरमाथा इन्स्योरेन्स र सोल्टी होटलको मूल्य ६ प्रतिशत बढ्यो । नेपाल टेलिकमको सबैभन्दा बढी ३४ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भयो । सो कम्पनीले पहिलो पटक १ सय कित्ता बराबर २० कित्ता बोनस सेयर घोषणा गरेको छ । साथै २० प्रतिशत नगदसहित कुल ४० प्रतिशत लाभांश घोषणा गरेको छ ।
तर लाभांश सार्वजनिक भएकै दिन कम्पनीको सेयर मूल्य ५.१३ प्रतिशत अर्थात प्रतिकित्ता ८८ रुपैयाँ घट्यो । मंगलबार सबैभन्दा धेरै मूल्य घट्नेमा टेलिकम नै अगाडि रह्यो । पहिले नै सूचना थाहा पाएर मूल्य बढेकाले बोनस सेयर घोषणा भएको दिन बेच्ने सेयर संख्या धेरै हुँदा कम्पनीको मूल्यमा ठूलो गिरावट आएको अनुमान छ । कारोबार रकमका आधारमा टेलिकमपछि अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स, पुनर्बीमा कम्पनी र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।

Comments

ताजा खबर