विशेष आर्थिक क्षेत्रमा भौतिक पूर्वाधार

२०७९, १ बैशाख बिहीबार १२:५४

काठमाडौँ: भाडा र निर्यातमा छुट पाउने अपेक्षाले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) र सिमरा विशेष आर्थिक क्षेत्रमा गरी करिब १० अर्ब रुपैयाँको लगानी प्रस्ताव आएको छ । ३३ उद्योग तथा व्यक्तिले ९ अर्ब ९४ करोड रुपैयाँको लगानी प्रस्ताव गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जानकारी दिएको छ । दुवै क्षेत्र गरी ४ हजार २ सय ५१ रोजगारी सिर्जना गर्ने प्रस्ताव आएको प्राधिकरणले बताएको छ ।

भैरहवा सेजमा ४५ प्लटका लागि आवदेन खुलाइएकामा १३ प्लटको ‘ओभर डिमान्ड’ भएको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए । ‘भैरहवामा ४५ प्लटका लागि आवेदन मागेकामा २३ उद्योग तथा व्यक्तिले ४८ प्लटका लागि ७ अर्ब ३ करोड रुपैयाँको प्रस्ताव गरेका छन्,’ भट्टले भने, ‘उद्योगीहरूको आवदेन हेर्दा सेजप्रति आकर्षण देखिन्छ । सेजभित्र आउने उद्योगलाई प्रोत्साहन सुविधा हुन्छ ।’
विशेष आर्थिक क्षेत्रमा भौतिक पूर्वाधार, आन्तरिक सडक, पानी, विद्युत्, सुरक्षा, पेट्रोलियम पम्प, धर्मकाँटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक, बिमाको सुविधा उपलब्ध छ । अहिले पाइरहेको सुविधामा उद्योगहरू नगएपछि सेजले थप सुविधा दिने निर्णय गरिसकेको छ । अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा जानेछ ।

‘सेजमा प्रतिवर्गमिटर प्रतिमहिना २० रुपैयाँ भाडा लाग्छ । अब आउने उद्योगलाई भाडादर घटाएर १० रुपैयाँ लागू गर्ने निर्णय गरेका छौं । निर्यातका विषयमा पनि विगतमा १ वर्षसम्म शून्य निर्यातको प्रावधान थियो, अब २ वर्षसम्म छुट दिने, त्यसपछि तेस्रो वर्षमा २० प्रतिशत, चौथो वर्षमा ४० र पाँचौं वर्षमा ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान गरेका छौं,’ भट्टले भने, ‘बोर्डबाट निर्णय गराएर छिट्टै मन्त्रिपरिषद्मा पेस हुन्छ ।’ उक्त छुट हुने प्रावधानले पनि उद्योगी व्यवसायी आकर्षित भएको उनको भनाइ छ ।
हाल भैरहवा सेजमा सात उद्योग सञ्चालनमा छन् । तिनमा दुई अर्ब रुपैयाँ लगानी रहेको जनाइएको छ । यसअघि भैरहवा सेजमै रहेका सात उद्योगको अनुमति खारेज गरिएको थियो । सेजभित्र उद्योग सञ्चालन अनुमति लिई ठाउँ मात्रै ओगटेपछि ती उद्योगको इजाजत खारेज गरिएको थियो ।

अरिहन्त एग्रो प्रोसेसिङ प्रालि, नेसनल अर्गानिक्स प्रालि, कुराकानी अनलाइन प्रालि, आईडीएस इलेक्ट्रिकल्स प्रालि, नीर इन्डस्ट्रिज प्रालि, शक्ति मिनरल्स प्रालि र क्रिएसन वर्ल्डवाइड प्रालिको अनुमति खारेज गरिएको भट्टले जानकारी दिए । त्यसपछि खाली रहेका ४५ प्लटका लागि सूचना प्रकाशन गरिएको थियो । अहिले भने ‘ओभर डिमान्ड’ भएको हो ।

‘भैरहवामा २ हजार ५ सय ३४ लाई रोजगारी दिने गरी कार्पेट, खाद्यवस्तु प्रशोधन, ढुंगा मूर्ति बनाउने र स्टिल उद्योगका प्रस्ताव परेका छन्,’ उनले भने, ‘छनोट प्रक्रिया एक–दुई दिनमै टुंग्याउँछौं ।’ सिमरा सेजका लागि भने २७ प्लटको मात्रै आवदेन परेको छ । यी प्लटमा १० उद्योगले २ अर्ब ९२ करोड रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । सिमरामा ६८ प्लटका लागि सूचना प्रकाशन गरिएको थियो । ‘सिमरा सेज नयाँ भएकाले त्यति प्रचार भएन । केही प्लट भर्खर निर्माण हुँदै गरेकाले धेरै आवेदन परेनन्,’ भट्टले भने, ‘बाँकी ४१ प्लटका लागि पनि छिट्टै सूचना निकाल्छौं ।’

सिमरामा १० उद्योगले १ हजार ७ सय १७ जनालाई रोजगारी दिने जनाएका छन् । त्यहाँ किचन वयर, होमअप्लाइन्स, फलफूल तथा कृषिवस्तु प्रशोधन, सवारी एसेम्बलिङ, कपडाका उद्योगलगायतले आवेदन दिएका छन् । सिमरा सेजअन्तर्गत ‘ब्लक ए’ को काम पनि अब छिट्टै सुरु गरिनेछ । उद्योगीहरूको प्रक्रिया लिएर बाँकी काम सम्पन्न गरेर पुनः सूचना प्रकाशन गरिने भट्टले जानकारी दिए ।

‘अहिले सिमरामा आधा मात्रै निर्माण भएको छ । चालु आर्थिक वर्षमा थप ७५ प्लटको काम गर्दै छौं,’ उनले भने । सेज विस्तारका लागि नेपालइन्फ्रास्ट्रक्चर बैंकले पनि सहजीकरण गरिदिने सहमति भएको उनले बताए । बैंकले सस्तो ब्याजमा ऋण दिने सहमति भएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु