डोल्पामा उच्च घनत्वको फुजी स्याउ

२०७९, १ बैशाख बिहीबार १२:४०

रुकुम: डोल्पामा उच्च घनत्वको फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड स्याउको परीक्षण थालिएको छ । ठूलीभेरी नगरपालिका–७ स्थित बागवानी विकास केन्द्रले स्याउको परीक्षणका लागि इटालीबाट बिरुवा ल्याएको हो । परीक्षणकै लागि केन्द्रले फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातका स्याउ केन्द्रमा लगाइएको छ । जसको उत्पादन र स्वाद हेरेर अन्यत्र विस्तार गर्ने केन्द्रको योजना छ ।

केन्द्रका प्रमुख सम्पत्ति बुढाले सानो क्षेत्रमा धेरै फलाउन सकिने, स्याहारसुसार गर्न सजिलो हुने र लामो समय भण्डारण गर्न सकिने स्याउ भएकाले परीक्षण थालेको बताए । ‘यो स्याउका विशेषताका आधारमा परीक्षण थालेका हौं,’ प्रमुख बुढाले भने, ‘लगाएकै वर्ष केही त फलि पनि सक्यो, अब थप फलेपछि यसको खास परीक्षण हुन्छ ।’ उनले स्याउका करिब १ बोट परीक्षणका लागि लगाइएको बताए । उनका अनुसार सानो रुख र टिप्न पनि सजिलो हुने भएकाले उच्च घनत्वको स्याउको सम्भाव्यता अध्ययन गर्न थालिएको हो ।
जिल्लामा चिस्यान केन्द्र छैन । अरु स्याउ लामो समय राख्न सक्ने अवस्था पनि नभएकाले उच्च घनत्वको स्याउको विकल्प खोजिएको हो । परीक्षण लागि स्याउ लगाएको केन्द्रले बिरुवा पनि उत्पादन गरिरहेको छ । फुजीका ८०, गोल्डेनका ८०, स्टार रेडका ८० विरुवा केन्द्रमै तयार भइरहेका छन् । लगाइएका स्याउको उत्पादन र स्वाद राम्रो भएको प्रमाणित हुनेबित्तिकै बिरुवाहरू किसानलाई वितरण गरिने केन्द्र प्रमुख बुढाले बताए । उनका अनुसार चिस्यान केन्द्र अभावमा ती बिरुवा पनि केन्द्रले रुखका झ्याउमा उत्पादन गरिरहेको छ ।

डोल्पा कर्णालीका हिमाली जिल्लासरह नै स्याउ फल्ने जिल्ला हो । ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बढी मात्रामा स्याउ उत्पादन हुन्छ । अहिले डोल्पामा करिब ४ सय हेक्टरमा स्याउ लगाइएको जिल्ला केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाभरि नै स्थानीय जातका स्याउ लगाइएको हो । ढुवानी समस्याका कारण उत्पादन भएको सबै स्याउ बजार नपुग्ने ठूलीभेरी नगरपालिका–९ का लोकबहादुर डाँगीले बताए । ‘स्याउ त राम्रो फल्छ, तर बजारको समस्या छ,’ उनले भने, ‘सडकमार्फत स्याउ पुर्‍याउँदा कुहिने समस्या छ, जहाजमार्फत ढुवानी गर्दा महँगो हुन्छ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु