चीनले नेपाल घुम्न जाँदा स्थलमार्ग प्रयोग नगर्न अपिल

२०७९, ३० बैशाख शुक्रबार ०६:५७

काठमाडौं: चीनले स्थलनाका प्रयोग गरेर नेपाल भ्रमणमा नजान आफ्ना नागरिकलाई सचेत गराएको छ । कोरोना महामारीयता नेपाल–चीन व्यापारिक नाकाहरू आंशिक मात्रै खुलिरहेका बेला पर्यटकीय प्रयोजनका लागि स्थलमार्ग प्रयोग नगर्न चीनले सचेत गराएको हो । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार जारी गरेको यात्रा सुरक्षाबारेको सूचनामा यस्तो कुरा उल्लेख भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

केरुङका अतिरिक्त तातोपानी र फुलान नाका कोरोना महामारीयता मानवीय आउजाउका लागि प्रयोगमा नरहेको चीनको भनाइ छ । ‘कोभिड प्रकोपका बेला नेपाल र चिनियाँ सरकारको नियमअनुसार सबै बन्दरगाहका प्रवेश तथा निकासका च्यानल बन्द गरिएको छ,’ सूचनामा भनिएको छ, ‘आवतजावतमा कडाइका साथ प्रतिबन्ध लगाइएको छ ।’ चीनले महामारीका बेला सुरक्षा व्यवस्था अपनाउन र अनावश्यक यात्रा नगर्न पनि आफ्ना नागरिकलाई सुझाएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई प्राकृतिक प्रकोपबाट समेत सावधान रहन भनेको छ । नेपाल विस्तारै वर्षायाममा प्रवेश गरेकाले विगतमा धेरै बाढी, पहिरोका अलावा सडक भत्किनेजस्ता भौगर्भिक प्रकोपजन्य खतरा भएकोतर्फ पनि उसले ध्यानाकृष्ट गराएको छ ।

नेपाली पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको हिस्सा भारतपछि दोस्रो नम्बरमा पर्छ । तर दुई वर्षदेखिको कोरोना महामारीले पर्यटकीय आवागमन घटेको छ ।

Comments

ताजा खबर