काठमाडौँ: मुलुक स्थानीय तहको चुनावमा होमिएका बेला सेयर बजारमा भने यसको कुनै प्रभाव देखिएको छैन । चुनावमार्फत नयाँ नेतृत्व चयन हुनुका साथै खर्च पनि बढ्ने भएकाले बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षाविपरीत प्रवृत्ति देखिएपछि यस्तो विश्लेषण गरिएको हो । स्थानीय तहको चुनाव घोषणा मितिदेखि धेरैजसो दिन बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएपछि बजारमा चुनावको असर नपरेको जानकारहरू बताउँछन् ।

स्थानीय तहको चुनाव हुने मितिभन्दा ठीक एक साताअघि (वैशाख २२ मा) नेप्से परिसूचक २ हजार २ सय ३८ अंकमा झरेको थियो, जुन पछिल्लो १६ महिना (अर्थात् २०७७ पुस २६) यताकै न्यून बिन्दु हो । गत भदौ २ मा नेप्से परिसूचकले ३ हजार १ सय ९८ अंकको उच्च रेकर्ड बनाएको थियो । त्यसयता ओरालो लागेको बजार थामिनेमा विश्वसनीय आधार देखिँदैनन् ।
विगतका वर्षमा चुनावका बेला सेयर बजार प्रायः बढ्ने गरेको लगानीकर्ताको अनुभव छ । यसपटक चुनावभन्दा पनि बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य रकमको चरम संकटले ठूलो असर पारेको लगानीकर्ता बताउँछन् । ‘तरलता संकट र त्यसैको प्रभावले ब्याजदर अहिले उच्च छ, जसले गर्दा चुनावको माहोलमा बजारले गति लिन सकेन,’ सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुलेलले भने । सेयर बजारलाई सबैभन्दा ठूलो प्रभाव पार्ने तत्त्व नै ब्याजदर हो । ब्याजदर उच्च रहेका बेला सेयर बजारमा भन्दा मुद्दती खातामा पैसा राखेर आम्दानी गर्नतर्फ लगानीकर्ता आकर्षित हुन्छन् । कर्जा लिएर लगानी गर्नेलाई पनि लागत महँगो पर्ने भएकाले सेयर ऋण लिन चाहँदैनन् । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । जेठमा पनि यही दरलाई निरन्तरता दिने उनीहरूको सहमति छ । जेठमा ब्याजदर नबढ्ने भएकाले पनि त्यसले बजारलाई सकारात्मक प्रभाव पार्ने फुलेलको दाबी छ ।

हालसम्मको उच्च अंकबाट बजार ओरालो लाग्दा सेयर लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्यमा सवा ११ खर्ब रुपैयाँ हाराहारी नोक्सानी बेहोरेका छन् । यस अवधिमा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा आएको गिरावटका आधारमा लगानीको सम्पत्तिको मूल्य घटेका रूपमा हेरिएको हो । नेप्सेका अनुसार गत भदौ २ मा कुल बजार पुँजीकरण (सूचीकृत धितोपत्रको पछिल्लो बजार मूल्यका आधारमा गणना गरिएको) ४४ खर्ब ६८ अर्ब रुपैयाँ थियो । यो हालसम्मकै उच्च हो । बिहीबारसम्म आइपुग्दा कुल बजार पुँजीकरण ३३ खर्ब ४३ अर्बमा खुम्चिएको छ ।

यद्यपि यो साताका सुरुवाती ४ दिन बजार बढेको छ । बजारको यो प्रवृत्तिले लगानीकर्तामा केही आशा बढेको छ । गत आइतबार १७.९, सोमबार १२, मंगलबार ४४, बुधबार ५६ अंक बढेको थियो । यद्यपि बिहीबार १८ अंकले नेप्से घट्यो । हाल नेप्से परिसूचक २ हजार ३ सय ५० अंकमा अडिएको छ ।

चुनावका बेला बजारमा पर्याप्त पैसा प्रवाह हुने र यसले बैंकिङ प्रणालीमा तरलता बढ्न गई सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने धेरैको बुझाइ थियो । चुनावका बेला न बैंकिङ प्रणालीमा तरलता बढेको छ, न त सेयर बजार नै बढ्यो । जेठमा ब्याजदर स्थिर राखे पनि बैंकहरूलाई ब्याजदर बढाउन भने चर्को दबाब परेको छ । राष्ट्र बैंकले नै वैदेशिक रोजगार बचतपत्रमा १२.५ प्रतिशत तथा नागरिक बचतपत्रमा ११.५ प्रतिशत ब्याज दिने गरी बचतपत्र बिक्री आह्वान गरेकाले नियामक ब्याजदर बढाउने पक्षमा सकारात्मक देखिन्छ । अर्कोतर्फ अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत ब्याजदर बढाउनुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको छ । ब्याजदर घटाउने मुख्य आधार लगानीयोग्य रकमको पर्याप्तता हो । तर अहिले नै धेरै बैंकहरू कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् । असार मसान्तसम्म निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमाभित्र ल्याइसक्नुपर्ने भएकाले कतिपय बैंकलाई अहिले दिएको कर्जालाई समेत संकुचित गर्नुपर्ने बाध्यता छ ।

तरलताको चरम संकट र ब्याजदर तत्काल घट्ने अवस्था नरहेकाले बजार धेरै माथि जाने अवस्था नरहेको अर्का थरी लगानीकर्ताको भनाइ छ । बजार यति तलसम्म झर्नुमा राष्ट्र बैंकका नीति नै मुख्य कारण रहेको एक लगानीकर्ताले बताए । ‘बैंकहरूलाई नै सेयर लगानीमा सीमा कस्ने, लगानीकर्तालाई सेयर लगानीका लागि ४–१२ करोड ऋणको सीमा तोक्ने, सेयर कर्जामा जोखिमभार १५० प्रतिशत गरिनुजस्ता नीतिगत व्यवस्थाले नै बजार घटाएको हो,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने । यी नीतिगत व्यवस्थालाई राष्ट्र बैंकले तत्काल सम्बोधन गर्ने अवस्था नरहेकाले बजार धेरै माथि नजाने उनको टिप्पणी छ ।

यद्यपि पछिल्ला दिनमा बजार केही सकारात्मक देखिएकाले आगामी दिनमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ताहरूको दाबी छ । ‘पछिल्ला केही दिन बजार बढेको देखिन्छ, अब चुनावपछि गति लिन्छ भन्ने बैंक ब्याजदरको अवस्था कस्तो हुन्छ भन्नेमा निर्भर हुन्छ,’ अर्का एक लगानीकर्ताले भने, ‘तर चुनावपछि पनि ब्याजदर घट्ने सम्भावना धेरै कम रहेकाले बजारको प्रवृत्ति यसै भन्न सकिँदैन ।’ नेपाल बैंकर्स एसोसिएसनले जेठका लागि पनि पुरानै ब्याजदर यथावत् राख्ने निर्णय गरिसकेको छ ।

यद्यपि आर्थिक वर्षको अन्तिम समय भएकाले जेठ–असारमा पुँजीगत खर्च बढ्ने, भुक्तानी हुने बाँकी रकम भुक्तानी हुनेलगायत कारण बजारमा तरलता बढ्ने आकलन गरिएको छ । यद्यपि सरकारी खर्चबाट बजारमा आउने रकमको तुलनामा बैंक तथा वित्तीय संस्थामा स्वीकृत कर्जा माग धेरै भएकाले वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार भइहाल्ने सम्भावना नरहेको जानकारहरू बताउँछन् ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago