स्वाप रेसियो १०० : ४३ मान्यता सहित नबिलले एनबि बैंकलाई प्राप्ती गर्ने सम्झौता पत्रमा हस्ताक्षर

२०७८, २९ पुष बिहीबार २०:२०

काठमाडौँ । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको छ । बिहिबार १०० : ४३ स्वाप रेसियोमा नबिल बैंकले एनबिलाई प्राप्ति गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नबिल बैंक र नेपाल बंगलादेश बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने काम सम्पन्न भएपछी नबिल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । बिहिबार यस्तो सम्झौता भएसंगै अव आइतबारबाट नेप्सेमा नेपाल बंगलादेश बैंकको सेयर कारोबार बन्द हुनेछ । यो प्रक्रिया नबिल र एनबिबीच मर्जर नभई नबिलले एनबिलाई प्राप्ति गर्ने भएकाले नबिल बैंकको सेयर कारोबार पनि यथावत नै रहनेछ । केहि समय अगाडी नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्सलाई समेत प्राप्ति गरेको थियो ।

यद्यपी नबिल र एनबिबीचको प्राप्ति प्रक्रियामा दुगड ग्रुपको मुद्धा के हुन्छ भन्ने विषय पनि चौतर्फी चासोको विषय बनेको छ । एनबी बैंकमा रहेको आईएफआईसी बैंकको सेयर आफुले किन्ने सम्झौता भइसकेको र अर्को पक्षलाई बिक्री गर्न नमिल्ने भन्दै सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले अदालतमा मुद्दा दायर गरेका थिए भने अदालतले सो सेयर कसैलाई बिक्री नगर्न आदेश दिइसकेको छ । यद्यपी यो मुद्धा आफ्नो पक्षमा हुने भन्दै चौधरी समूहले प्राप्ति प्रक्रिया अगाडी बढाउने अडान लिएपछि बिहिबार अन्ततः नेपाल बंगलादेश बैंकलाई बि लिने सम्झौता भएको हो ।

आन्तरिक सम्झौताअनुसार प्राप्तिपछिको नबिल बैंकमा नेपाल बंगलादेश बैंकबाट भर्खरै बिदा भएका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना प्रमुख कार्यकारी अधिकृत बन्नेछन् भने नबिल बैंकका हालका अध्यक्ष उपेन्द्र पौडेल बैंकको अध्यक्ष बन्नेछन् । नबिल बैंक लिमिटेडका अहिलेका सीइओ अनिल केशरी शाहको कार्यकाल केहि समयपछि सकिदैछ ।

बंगलादेश बैंकका कर्मचारीहरु केहि पद घटुवा हुनेगरी नबिलमा एडजष्ट हुनेछन् भने एकिकृत बैंकको नाम नबिल बैंक लिमिटेड नै रहनेछ । सन् १ ९ ८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा , १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत ग्राहकहरुलाईसेवा प्रदान गर्दै आएको छ भने नेपाल बंगलादेश बैंकले १०० शाखा , १० एक्सटेन्सन काउन्टर तथा ८४ वटा ATM बाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु