मुल्यवृद्धिदर धेरै बढ्‌यो घरमा अब चुलो कसरी बल्छ??

२०७९, २८ असार मंगलवार ०७:३६

काठमाडौं: बजारमा महँगी उच्च दरमा बढेको छ, गत जेठमा मूल्यवृद्धिदर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले नै देखाएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा समग्र मूल्यवृद्धिदर ८.५६ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ आर्थिक वर्ष २०७२/७३पछिको मुद्रास्फीति उच्च विन्दुमा पुगेको बताउँछन् । २०७३को भदौमा मूल्यवृद्धिदर ७.९ प्रतिशत थियो । त्यसपछि वाञ्चित सीमाभित्र रहँदै आएको मूल्यवृद्धिदर ६ वर्षपछि फेरि ८.५६ को विन्दुमा पुगेको हो । राष्ट्र बै.कको प्रतिवेदनअनुसार गत आर्थिक वर्षको ११ महिनामा यस्तो मूल्यवृद्धिदर ४.१९ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ जेठको तुलनामा यस जेठमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २२.६० प्रतिशतले बढेको छ । यस्तै दुग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि ११.२२ प्रतिशत छ । सुर्तीजन्य पदार्थको मूल्यवृद्धि ९.७० प्रतिशत छ भने मदिराजन्य पेय पदार्थको र दाल तथा गेडागुडीको मूल्यवृद्धि क्रमशः ९.६८ र ९.१३ प्रतिशत छ ।

गैर खाद्य तथा सेवा उपसमूह अन्तरगत यातायातमा २५.७९, शिक्षामा ११.६४ र फर्निसिङ तथा घरायसी उपकरण ८.२१ प्रतिशत पुगेको छ । यस्तै मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरुको उपसमूहको मुद्रास्फीति ८.२१ र ७.८४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ । यस्तै हिमाली क्षेत्रमा मुद्रास्फीति ८.९२ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.८७, ४.४७, ४.३२ र १.७३ प्रतिशत थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु