जापानमा निर्वाचनमा सत्तारूढ गठबन्धनले बहुमत, आबेसानले देखेका सपना साकार पार्ने

२०७९, २८ असार मंगलवार ०७:२७

टोकियो: जापानको माथिल्लो सदन ‘द हाउस अफ काउन्सिलर’ को निर्वाचनमा सत्तारूढ गठबन्धनले बहुमत प्राप्त गरेको छ । २४८ सिटमध्ये लिबरल डेमोक्रेटिक पार्टी र कोमिइतोबीचको गठबन्धनले १४६ सिटमा जित हात पारेको हो ।
लिबरल डेमोक्रेटिक शुक्रबार हत्या गरिएका पूर्वप्रधानमन्त्री सिन्जो आबेसम्बद्ध पार्टी हो । चुनावी प्रचारप्रसारकै क्रममा आबेको गोली हानी हत्या भएको थियो । उक्त घटनापछि पनि आइतबार तोकिएकै समयमा निर्वाचन भएको थियो । निर्वाचनमा जापानी मतदाताले सन् १९४७ को संविधान बदल्ने गरी
जनमत प्रदान गरेका छन् । संविधान संशोधनको पक्षमा रहेका दललाई कुल १७० सिट मिलेको छ । संविधान संशोधन गर्न माथिल्लो सदनमा कम्तीमा १६६ सिट चाहिन्छ । प्रमुख प्रतिपक्ष कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी ३९ सिटमा खुम्चिएको जापान टाइम्सले लेखेको छ ।

ऐतिहासिक जितपछि प्रधानमन्त्री एवं लिबरल डेमोक्रेटिक पार्टीका प्रमुख नेता किसिदा फुमियोले महत्त्वपूर्ण जनमत दिएकोमा मतदातालाई धन्यवाद दिएका छन् । सोमबार टोकियोमा पत्रकारहरूसँग बोल्दै उनले मुलुकसामु विद्यमान संकट समाधानमाअघि बढ्ने प्रतिबद्धता जनाए । कोरोना महामारी, महँगी, जापानी अर्थ व्यवस्थाको पुनर्उत्थानमा लाग्ने उनले स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री आबेले देखेका सपना साकार पार्न आफू लागि पर्ने पनि उनको भनाइ थियो । आबेको इच्छाअनुसार आगामी ५ वर्षभित्रमा जापानको आन्तरिक सुरक्षा बलको क्षमतामा भारी वृद्धि गर्ने उनले घोषणा गरे । जसका लागि संविधानका प्रमुख ४ वटा धारा संशोधन गरिने उनको भनाइ छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु