मेलम्चीको पानी नयाँ वर्षपछि मात्रै धारामा आउने

२०७८, २९ चैत्र मंगलवार १२:३८

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा आजदेखि पानी पठाउने भएको छ । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी पानी पुन: पठाउन थालिएको हो । अहिलेसम्म पथान्तरणको औपचारिक सुरुआत र विभिन्न चरणमा भएका उद्घाटन जोड्ने हो भने यो मेलम्चीको सातौं औपचारिक उद्घाटन हुनेछ । आजदेखि पानी पठाउन सुरु गरिए पनि धारामा आउन भने नयाँ वर्ष नै कुर्नुपर्ने छ । आजको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा नै सहभागी हुने भए पनि निर्वाचन आचारसंहिताका कारण उनी सहभागी नहुने भएका छन् ।

२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री विना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् ।

तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो । १० फागुनमा तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरणको शुभारम्भ गरेका थिए । २२ फागुनमा सुन्दरीजलमा आइपुगेको पानीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गेट खोलेर वाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।

उद्घाटनको हतारोमा सरकारले त्यतिबेला सुरुङ खाली गरेर गर्नुपर्ने सुपरीवेक्षण र सुधारको काम नगरी पानी वितरण थालेको थियो । १५ चैत २०७७ मा महाँकालमा रहेको पानी पोखरीमा औपचारिक कार्यक्रम गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको पानी वितरण सुरु गरेको थियो ।

त्यसको एक हप्तापछि २३ चैत २०७७ मा काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको समुद्घाटन गरेकी थिइन् । तर, हेडवक्र्सको निर्माण नसकिँदै गत १ असारमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र तहसनहस पार्‍यो । अस्थायी बाँध बनाइसकेपछि गत १९ चैतमा खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्चीको महुानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए ।

सातौं पटक उद्घाटन–शुभारम्भ हुन लागेको मेलम्ची आयोजनाको काम भने अझै पनि सकिएको छैन । निर्माणाधीन अवस्थामै पुरिएको पानी फिल्टर गर्ने संयन्त्र काम लाग्ने अवस्थामा छन् कि छैनन् भन्ने टुंगो छैन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु