बालकथा: छेपारोको नाम मौसम कुमार – पारसमणि दाहाल

२०७८, २८ फाल्गुन शनिबार २०:१०

बालकथा: छेपारोको नाम मौसम कुमार

एउटा गाउँको बीचमा सुन्दर बगैंचा थियो । बगैंचाको छेउमा सानो पोखरी पनि थियो । अर्को छेउमा ठूलो चौर थियो । बगैंचामा धेरै प्रकारका फूलहरू फुलेका थिए । पोखरीमा राम्राराम्रा माछाहरू थिए । चौरमा बिहान बेलुका गाउँका केटाकेटीहरू खेल्न भेलाहुन्थे । लुकामारी, डण्डीबियो, लुकाइ आदि खेलहरू खेल्न थुप्रै केटाकेटीहरू भेला हुने गर्दथे । रुमाल

बगैचामा भ्यागुता, छेपारो, पुतली, फट्याङ्ग्रो, कमिला, झुसिल्किरा, चिप्लेकीरा, जुनकिरी लगायत थुप्रै किसिमका कीराहरू पनि थिए । यी सबै कीराहरूको घर यही बगैंचा थियो । बिहानबेलुका आहारा बटुल्न र खेल्न कीराहरू पनि बगैँचाको कुनाकाप्चा सम्म भेला हुने, डुल्ने गर्दथे । कमिलाहरू आफ्ना सबै सन्तान, नातागोता र छरछिमेकीहरू बटुली लावालस्करसहित आहाराको खोजीमा निस्कन्थे । कमिलाको ताँती रेलगाडी जत्तिकै लामो हुन्थ्यो । कहिलेकाहीँ त कमिलाले आफ्नो ज्यानभन्दा कयौंगुणा ठूलो आहारा सकिनसकी घिसारेर आफ्नो घरतर्फ लैजान्थे । अघाउजी आहारा बटुलेपछि बचेको समयमा उनीहरू पनि मिलेर खेल्ने, दौडने गर्दथे ।

बगैंचामा बस्ने सबै कीराहरू एकआपसमा ज्यादै मिलेर बसेका थिए । चाँडबाडमा सबैकहाँ पालैपालो खानाखाने गर्दथे । रमाईलो गर्थे । नाचगान गर्थे । साहोगाह्रो पर्दा पनि एकआपसमा सहयोग गर्दथे । आफूहरूमध्ये कसैलाई अफ्ठेरो पन्यो भने पनि सल्लाह गरी समाधान गर्दथे । बगैंचाको फूलबिरुवालाई कुनै हानीनोक्सानी नपुऱ्याइकन खाना खोज्ने तथा खेल्ने गर्दथे । यस बगैंचामा धेरै वर्षदेखि यिनीहरू मिलेर बसोबास गर्दै आएका थिए ।

उता, चौरमा खेल्न आएका गाउँका केटाकेटीहरूले आ-आफ्नो नाम बोलाएर खेल्ने गर्दथे । एउटाको नाम विमल थियो । अर्को कृष्ण, हरि, शिव, मनकुमार, दिप्ती, शिखा, रुपमती, प्रियान, नितान्त, अमन, दीपा, रश्मी, आयुष्मा थुप्रै केटाकेटीहरू चौरमा साँझ बिहान खेल्न आउने गर्दथे । उनीहरू सबैले खेल्दा आ-आफ्नो टिम मिलाएर खेल्थे । साथीहरूलाई खेलमा हौस्याउँदै आ-आफ्ना टिमका साथीहरूको नाम बोलाएर कराउने गर्दथे । टिमका साथीहरू खेल्दा नितान्त ! नितान्त ! ! नितान्त ! ! !, प्रियान ! प्रियान ! ! प्रियान ! ! !, दिप्ती ! दिप्ती ! ! दिप्ती ! ! ! केटाकेटीहरूको चिच्याहटले पुरै गाउँनै गुञ्जायमान हुन्थ्यो ।

“ए ! हरि बल यता देऊ त ।” कृष्णले आफ्नो साथीलाई भन्थ्यो । रश्मिले मनकुमारलाई “मनकुमार दाइ ! मलाई पनि तपाईसँगै खेलाउनुस् न !”

शिवले विमललाई डण्डीबियो खेल्न बोलाइ रहन्थ्यो । चौरमा खेल्न आएका केटाकेटीहरूले साथीभाइको नाम बोलाएर खेलेको बगैंचाका कीराहरूले सुन्दा; उनीहरूलाई रमाइलो लाग्दथ्यो ।

एकदिन बगैचाका सबै कीराहरू एकैठाउँ भेला भए । कीराहरूले पनि आफ्नो नाम मानिसहरूको जस्तै राख्ने सल्लाह गरे । सल्लाह बमोजिम भ्यागुताले आफ्नो नाम ‘ट्याउँप्रसाद’ राख्यो । छेपारोले ‘मौसमकुमार’ । पुतलीले ‘रूपमती’ राखी । फट्याङ्ग्रोले ‘डुलबहादुर’ । कमिलाले आफ्नो नाम ‘कर्मा शेर्पा’ राख्यो भने चिप्लेकीराले ‘चिलिमे चेपाङ’ । जुनकिरीले आफ्नो नाम ‘दिप कुमारी’ राखी ।

अब देखि बगैंचाका सबै कीराफट्याङ्ग्राहरूले आफ्नो फेरिएको नामबाटै बोलाउने सल्लाह गरे । खेल्दा, खाँदा, डुल्दा भ्यागुतोलाई अरूले ‘ट्याउँप्रसाद’ भनि बोलाउन थाले । भ्यागुतो पनि दङ्ग पर्दै छेपारोलाई बोलाउनु पर्दा ‘मौसमकुमार’ भनि बोलाउँथ्यो । छेपारो पनि आफ्नो नाम मानिसको जस्तो भएकोमा फुरुक्क थियो । राम्री भएकीले होला पुतलीले आफ्नो नाम ‘रुपमती’ राखेकी थिई । पुतलीलाई उसका साथीहरूले ‘रूपमति’ भनेर बोलायो भने उसको भुइँमा खुट्टा नै हुँदैन थियो ।

फुत्रुक फुत्रुक उफ्रने भएर फट्याङ्ग्रोको नाम ‘डुलबहादुर’ थियो । बगैंचाभरी उफ्रिउफ्री डुल्ने भएकोले ऊ पनि आफ्नो ‘डुलबहादुर’ नाम भएकोमा मख्ख थियो ।

कामका लागि मिहिनेती भनि नाम कमाएको कमिलाले ‘कर्मा शेर्पा’ नयाँ नाम पाएकोमा छाती फुलाएर बसेको थियो । सबैले फोहोरी र लोसे भनि गिज्याउने चिप्लेकीरालाई उसको नयाँ नाम ‘चिलिमे चेपाङ’ राखि दिएकोमा आफ्नो जुनी नै फेरिएको ठानेको थियो चिप्लेकीराले । रातिराति पनि बत्ती बालेर बगैंचामा घुमफिर गर्न सक्ने जुनकिरीको नाम ‘दिपकुमारी’ भएकोमा ऊ पनि दङ्ग थिई ।

चौरमा खेल्न आउने थुप्रै केटाकेटीहरूमध्ये केहीको नाम कीराफट्याङ्ग्राहरूको नामसँग मिलेको थियो । ट्याउँप्रसाद, डुलबहादुर, कर्मा शेर्पा, चिलिमे चेपाङ, दिपकुमारी र रुपमती त त्यहाँ सधैँ खेल्न आउने केटाकेटीहरूको नाम थियो । केटाकेटीहरूले आफ्ना साथीहरूको नाम बोलाउँदै विभिन्न खेलहरू खेल्थे । बगैंचाका कीराफट्याङग्राहरूले पनि साथीभाइको फेरिएको नाम नै बोलाएर खेल्ने गरेका थिए । दुवै पक्षले नाम बोलाएर खेल्दा बगैचामा खुबै रमाइलो हुन्थ्यो । केटाकेटीहरूले खेलेको खेलको नक्कल गरिगरी कीराफट्याङ्ग्राहरूले पनि खेल्ने गर्दथे । दिनहुँ बगैचामा बेलुकीपख खुबै रमाइलो हुन्थ्यो ।

एकदिनको कुरा हो । साँझ झमक्कै परेको थियो । सबै केटाकेटीहरू खेलिसकेर आ-आफ्नो घरको बाटो लागे । पुतली रुपमतीलाई मान्छे रुपमतीको घर जान धेरै अघिदेखि मन लागेको थियो । आज साँझ झमक्क परेपछि सबै साथीहरू आ-आफ्नो घर गएको मौका छोपी मान्छे रुपमतीको घर जान उसको पछिपछि लागी । पुतली रुपमतीले आफ्ना साथीहरूलाई केही नभनि मान्छे रुपमतीको टाउको माथिमाथि उड्दै उसको पछिपछि लागी । मान्छे रुपमती जताजता जान्छे पुतली रुपमती पनि उतैउतै उड्दै जान्थी । मान्छे रुपमतीको घर टाढा थियो । साथीहरूसँग कुराकानी गर्दै ऊ आफ्नो घरमा पुगी । मान्छे रुपमती घर पुग्दा अँध्यारो भएको थियो । ऊ आफ्नो कोठाभित्र पसी । पुतली रुपमती मान्छे रुपमतीको घरको छानोमा गएर बसी ।

मध्यरात भएपछि हावाहुरीसहित ठूलो पानी पयो । पुतली रुपमतीलाई हावाले उडायो । पानीले निथुक्कै हुनेगरी भिजायो । ऊ जाडोले थरथरी काम्न थाली । उसलाई ओत लाग्ने ठाउँ पनि थिएन । पानीले भिजेर उसलाई ज्वरो आयो । उसका साथीभाइ आफन्त कोही पनि थिएनन् । उसलाई आपत् पयो । जसोतसो रात काटी बिहानी पख घाम लाग्यो तर ऊ फेरि फर्केर बगैंचामा आउन सकिन । ऊ बिरामी थिई ।

सधैँ झै बेलुका सबै बगैंचामा भेला भएर खेल्न थाले तर रुपमती पुतलीलाई कसैले देखेनन् । पुतलीका साथी सबै कीराफट्याङ्ग्राहरू, रुपमती, पुतली खेल्न नआएकोमा दुःखी भए । उनीहरू रुपमती पुतलीलाई खोज्न उसको घरमा गए । घरमा पनि उसलाई भेटेनन् । सबै कीराफट्याङ्ग्राहरू रुपमती पुतली हराएकोमा चिन्तित भए । सबै कीराफट्याङ्ग्राहरूले साथी रुपमती पुतलीलाई खोज्न जाने सल्लाह गरे । सबै मिलेर टाढा टाढासम्म रुपमती पुतलीलाई खोज्न गए । धेरै दिन खोजेपछि बिरामी भएर सुतिरहेकी • रुपमती पुतलीलाई एउटा सूर्यमुखी फूलको बोटमा अडेस लागेर बसिरहेको देखे ।

“किन रुपमती यहाँ आएर बसेको ? हामीले तिमीलाई कहाँ कहाँ खोज्यौ ?” उनीहरूले रुपमतीलाई सोधे । रुपमतीले सबै कुरा साथीहरूलाई सुनाई । मान्छे रुपमतीको घर हेर्न गएको र रातिको हावाहुरी र पानीले आफूलाई उडाएर यहाँसम्म ल्याएको सबै कथा सुनाई । आफू बिरामी भएर घर (बगैचा) फर्कन नसकेको कुरासमेत साथीहरूलाई उसले बताई ।

सबै साथीहरूले रुपमतीलाई गाली गरे । “त्यसरी एक्लै रात साँझमा कसैलाई नभनी सुटुक्क हिँड्दा यस्तै हुन्छ ।” उसलाई हकारे; सम्झाए; सबै साथीहरू मिलेर उसलाई बगैचामा ल्याउने र औषधिमुलो गर्ने सल्लाह गरे ।

रुपमती उड्न नसक्ने भएर बिरामी भएकी थिई । सबै साथीहरूले उसलाई कसरी बगैचामा लैजाने भनेर सल्लाह गरे ।

‘चिलिमे चेपाङ’ नाम गरेको चिप्लेकीराले बिरामी रुपमतीलाई पिठ्युँमा बसायो । सबै मिलेर रुपमतीलाई बगैँचामा ल्याए । सबै मिलेर बिरामी रुपमतीको हेरविचार गरे । समय-समयमा औषधि खुवाए । मीठोमीठो खानेकुराहरू खुवाए ।

केहीदिनपछि रुपमती उड्न सक्ने भई । उसलाई सञ्चो भयो । साथीहरूसँग उसले “अबदेखि एक्लै कतै नजाने वाचा गरी।” सबै साथीहरू रुपमतीसँग खुसी भए । सबै मिलेर खेल्न थाले ।

Comments

ताजा खबर