मन्दिर मर्मतको चार वर्ष नपुग्दै भत्कियो, आखिर किन बनाइदैछ कमजोर संरचना

२०७८, २८ फाल्गुन शनिबार ११:२४

पाल्पा: तानसेन नगरपालिका– २, नारायणस्थानस्थित २ सय १५ वर्ष पुरानो मन्दिर मर्मतको चार वर्ष नपुग्दै भत्किएको छ । तत्कालीन काजी अमरसिंह थापाले निर्माण गरेको अमरनारायण मन्दिर बुधबार भत्किएको हो ।
मन्दिरको दक्षिण र पूर्वतर्फको पहिलो तलाको झिंगटीको छानासहितको भाग खसेको पुजारी उमाशंकर पोखरेलले बताए । थापाले नेपाल–अंग्रेज युद्धको समयमा १८६३ सालमा मन्दिर निर्माण गरेको इतिहास छ ।

२०७२–७४ मा अमरनारायण मन्दिर तानसेन नगरपालिकाको रेखदेखमा पुरातत्त्व विभागले जीर्णोद्धार गरेको थियो । जीर्णोद्धार गर्दा सबैभन्दा माथिल्लो छानामा पित्तल लगाइएको छ । गजुरमा सुन लेपन गरिएको छ ।

बाँकी भागमा पनि पुराना काठ फेर्ने, भत्किएकामा मर्मत गर्ने काम भएको थियो । ‘बाँकी दुई तलामा झिँगटीको छाना थियो,’ पुजारी पोखरेलले भने । मन्दिरमा पुरातत्त्व महत्त्वका बहुमूल्य काठका टुँडाल छन् । मन्दिर नजिकका स्थानीय हिमालदत्त श्रेष्ठले सहरी विकास मन्त्रालय र पुरातत्त्व विभागलाई तत्काल मर्मतका लागि जानकारी दिएको बताए ।

पुरातत्त्व विभागका इन्जिनियरको टोलीले नापजाँच गरेर फर्किसकेको छ । विश्व बैंकको ऋण सहयोगमा ३ करोड ४४ लाख खर्चेर मन्दिर मर्मत भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु