फेरि बढ्यो ब्रोइलर कुखुरा मासु

२०७८, २८ फाल्गुन शनिबार ०७:४९

काठमाडौँ: राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य फेरि बढाएको छ । दानाजन्य कच्चा पदार्थको मूल्य निरन्तर बढेको जनाउँदै संघले यसअघि बढाएको चार दिन नबित्दै फेरि नयाँ मूल्य कायम गरेको हो ।

संघले यसअघि फागुन २३ गतेदेखि लागू हुनेगरी जिउँदाे ब्राेइलर कुखुराकाे मूल्य प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ९० रुपैयाँ तोकेको थियो । शुक्रबारदेखि थप १० रुपैयाँ बढाएर प्रतिकिलो ३ सय रुपैयाँ पुर्‍याइएको संघका सचिव देवकुमार गिरीले बताए । रुस युक्रेन युद्धकै कारण दानाको कच्चा पदार्थ भाउ अत्याधिक बढेको उनले बताए । ‘दानाका लागि चाहिने मकै, भटमासका कन्टेनरहरु आयात हुन सकेको छैन । समयमै पर्याप्त आयात नहुँदा यहाँ महँगो भइरहेको छ, त्यसको प्रभाव कुखुराको मूल्यमा पनि परेको छ,’ उनले भने ।
यसअघि माघ २३ गते प्रतिकिलो जिउँदो ब्रोइलरको मूल्य २ सय ४० रुपैयाँ थियो । त्यसपश्चात मूल्य निरन्तर बढेको छ । संघले फागुन ६ गते मूल्य बढाएर २ सय ६० रुपैयाँ, फागुन १४ गते फेरि बढाएर २ सय ७० रुपैयाँ पुर्‍याएको थियो । फागुन १८ गते २ सय ८० रुपैयाँ, २३ गते २ सय ९० पुर्‍याइएको थियो । जिउँदो ब्रोइलरको मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि उच्च कायम भइरहेको छ । व्यवसायीका अनुसार काठमाडाैं उपत्यकामा तयारी मासुको खुद्रा मूल्य प्रतिकिलो ४ सय ३० रुपैयाँ हाराहारीमा बिक्री भइरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु