सत्ता होइन व्यवस्था बचाउन गठबन्धन : नेता पाण्डेय

२०७९, ६ कार्तिक आईतवार १४:२६

पाल्पा । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार सोम प्रसाद पाण्डेयले देशलाई अप्ठेरो परेको बेला ईतिहास देखी नै पटक पटक बाम लोकतान्त्रिक गठबन्धन भएर देशलाई बँचाउने काम भएको बताउनुभएको छ ।

नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहनुभएका नेता पाण्डेयले तानसेन नगरपालिका वडा नं. १२ को विभिन्न स्थानमा भएको चुनावी घरदैलोलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । नेता पाण्डेयले गणेशमानको बेला, ६२÷६३ सालमा जनआन्दोलनको बेला राजतन्त्र फाल्न र अहिले बर्षौ लगाएर बनाएको संविधान माथी प्रहार भईरहेको बेला संविधान र लोकतन्त्र बँचाउन बाम लोकतान्त्रिक गठबन्धन भएको बताउनुभएको हो । गठबन्धन चुनावी तालमेल मात्र नभएर ईतिहासमा जस्तै देश जोगाउने अभियान र संविधान रक्षाका लागी भएको बताउनुभएको हो ।

नेता पाण्डेयले अहिलेको चुनाव अग्रगामी शक्ति र प्रतिगमनकारी शक्ति बीचको लडाई भएको बताउनुभयो । संविधान माथि धावा बोल्नेलाई पराजित गर्न गठबन्धन भएको नेता पाण्डेयको भनाई थियो । “पाँच दलको गठबन्धनले देश जोगाउन, सुशासन ल्याउँछ, स्थायित्व ल्याउँछ, यसको विकल्प छैन ।” नेता पाण्डेयले भन्नुभयो । “गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट कसैलाई छैन । यो सहमति अक्षरशः पालना गरेर जानू पर्दछ, सत्ता होइन व्यवस्था बचाउन अहिले ५ दलको गठबन्धन हो ।”

अहिलेको गठबन्धन चुनाव जिताउने तालमेल मात्र नभएर संविधानको रक्षा र परिवर्तनका उपलब्धी जोगाउने अभियान भएको नेता पाण्डेयले बताउनुभयो । प्रतिगामीहरूले अर्को गठबन्धन नै बनाएर संविधान नै खल्बल्याउने प्रयास गरिरहेकाले त्यसविरूद्ध अग्रगामी गठबन्धन बनेको नेता पाण्डेयको दाबी छ ।

कार्यक्रममा गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ (१) का उम्मेदवार वीर बहादुर रानाले संविधानको रक्षा दलहरुको प्रमुख दायित्व भएकाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्नुभयो । मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने रानाले बताउनुभयो ।

रानाले संविधान क्षतविक्षत गरेर संविधानलाई समाप्त पार्ने प्रयास भएपछि गठबन्धन गरेर अघि बढेको बताउनुभयो । रानाले गठबन्धनले जोखिम नउठाएको भए र प्रतिकार नगरेको भए आज संविधान नै क्षतविक्षत हुने र लोकतन्त्र खल्बलिने बताउनुभयो । रानाले संविधान रक्षा गर्न यो जोखिम मोलेको र लोकतान्त्रिक गठबन्धन त्यही जोखिमको निरन्तरता भएको बताउनुभयो ।

 

 

Comments

ताजा खबर