कुल विनियोजित बजेटको ८९.०५ प्रतिशत २५ दिनमा स्वाह !!

२०७९, २६ असार आईतवार १५:५८

काठमाडौं: असारमा आएर ठूलो बजेट खर्च गर्ने प्रवृत्ति चालु आर्थिक २०७८/०७९ मा समेत दोहोरिएको छ । पछिल्लो २५ दिन (असारयता) मा विकास खर्च मात्र ५२ अर्ब रुपैयाँ भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ३१ जेठ २०७९ मा विकास खर्च १३७ अर्ब रुपैयाँ मात्र भएको थियो । तर, शनिबार (२५ जेठ २०७९ सम्म पुग्दा) विकास खर्च १८९ अर्ब पुगेको छ । यो पछिल्लो २५ दिनमा भएको पूँजीगत खर्च हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबार मात्र १५ अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ । शुक्रबारसम्म १७४ अर्ब रुपैयाँ रहेको पूँजीगत बजेट खर्च शनिबार १८९ अर्ब पुगेको तथ्यांक छ । यससँगै अब पूँजीगत विकास वार्षिक लक्ष्यको ५० प्रतिशत छोएको छ । शनिबारसम्म विकास खर्च ५०.११ प्रतिशत गरेको छ । यस आवमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ ।

विकास खर्चसँगै चालु र वित्तीय व्यवस्थातर्फको भुक्तानी समेत असार लागेसँगै उल्लेख्य बढेको छ । ३१ जेठमा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च २५ दिनमा २ सय २ अर्बले बढेर १२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यो कुल विनियोजित बजेटको ८९.०५ प्रतिशत हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु