हाकिमका श्रीमतीहरू नै मिटर ब्याज असुलीमा संलग्‍न

२०७९, २७ जेष्ठ शुक्रबार १६:२२

काठमाडौं: नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृहमन्त्रालयका हाकिमका श्रीमती र सहयोगीहरू नै मिटर ब्याज असुलीमा संलग्न रहेको आरोप लगाएका छन् ।

आगामी आर्थिक वर्ष २०७९–०८० का लागि सरकारले यही जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमार्फत विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सांसद सुवालले सरकारले मिटर ब्याज नियन्त्रण गर्नेबारे बजेट वक्तव्यमा उल्लेख गरे पनि कानुनको पहुँचमा हुनेहरू नै यसको नियन्त्रणमा बाधक देखिएको दाबी गरे ।
‘गृह प्रशासनका हाकिमहरूका श्रीमती, आफन्त र सल्लाहकारहरू मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको समाचार पनि छ,’ उनले भने, ‘यस्ता गलत काम त कानुन हात लिन सक्नेहरूले गरेको देखियो नि ।’

महोत्तरी र सप्तरीका केही व्यापारीहरूले मिटर ब्याजको नाममा विभिन्न विपन्न समुदायका नागरिकमाथि शोषण गरिरहेको समाचार आएपछि अहिले सांसदहरूले यसबारे प्रश्न सोधिरहेका छन् । शुक्रबारको बैठकमा नेकपा माओवादीका नेता गिरिराजमणि पोखरेलले पनि संसद्मा मिटर ब्याजका कारण पीडितले न्याय पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाणलाई सप्तरीका रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धानअगाडि बढाउन निर्देशन दिएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु