मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने

२०७८, २६ फाल्गुन बिहीबार १९:३४

काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आगामी चैत १३ गते (मार्च २७, २०२२) देखि मुम्बईमा नियमित उडान पुनः सञ्चालन गर्न लागिएको छ ।

यो गन्तव्यमा साताको तीन उडान हुनेछ । काठमाडौँ–मुम्बई रुटमा बुधबार, शुक्रबार र आइतबार उडान हुनेछ । त्यसैगरी निगमले भारतकै अर्को महत्वपूर्ण गन्तव्य बैंग्लोरमा पनि चैत १५ (मार्च २९, २०२२) देखि पुनः उडान सञ्चालन गर्ने निगमका प्रवक्ता खड्काले बताए । उनका अनुसार यो गन्तव्यमा पनि सातामा तीन उडान सञ्चालन हुनेछ । मङ्गलबार, बिहिबार र शनिबार उडान सञ्चालन गरिनेछ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान फेरि सुरु हुने भएका हुन् । सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैंग्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिए । काठमाडौँ–बैंग्लोर–काठमाडौँको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । नेपाल एयरलाइन्सको बैंग्लोर स्टेसनका प्रबन्धक रीतादेवी राईका अनुसार नेपालबाट बैंग्लोर र बैंग्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेको छ ।

भारतका सबै गन्तव्यमा पूर्ण क्षमताको उडान
निगमको अन्तरराष्ट्रिय गन्तव्यमध्ये भारतका तीन गन्तब्य नयाँदिल्ली, मुम्बई र बैंग्लोर महत्वपूर्ण मानिन्छ । निगमले भारतको नयाँदिल्लीमा भने महामारीताका र त्यसपछि हालका दिनमा पनि नियमित उडान सञ्चालन गरिरहेको छ । एयरबबल सम्झौताअनुरुप सीमित सङ्ख्यामा उडान भइरहेको भारतका दिल्ली र छिट्टै सञ्चालनमा आउन लागेका थप दुई गन्तव्य मुम्बई र बैंग्लोरमा पूर्ण क्षमता अर्थात पहिलाको उडान जसरी सञ्चालन गर्ने निगमको योजना छ । भारतका तीनवटै गन्तव्यमा अब पूर्ववत क्षमतामै उडान सञ्चालन हुने निगमले उल्लेख गरेको छ ।

काठमाडौँ–दिल्ली गन्तव्यमा दैनिक दुई उडान
नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्ने भएको छ । आगामी फागुन ३० गतेदेखि उक्त गन्तव्यमा दैनिक दुई उडान सञ्चालन गरिने निगमले जनाएको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै निगमले दिल्लीका लागि दैनिक दुई उडान गर्ने भएको हो । अहिले भारतबाट एयर इण्डिया, इण्डिगो एयर र भिस्तारा एयरले काठमाडौँ गन्तव्यका लागि नियमित उडान गरिरहेका छन् ।

बैंककमा साताको दुई उडान
नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको निगमले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको निगमका प्रवक्ता खड्काले बताए । निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तराष्ट्रिय उडान गर्दै आएको छ ।

पर्यटक बढ्ने व्यवसायीको अपेक्षा
नेपालमा विदेशी पर्यटक आगमनका हिसाबले सबैभन्दा बढी नेपाल भित्रिने मुलुकमा छिमेकी मुलुक भारत पर्छ । कोभिड महामारीका कारण करिब दुई वर्षदेखि भारतीय पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउन सकेका थिएनन् । स्थल हुँदै हवाई मार्ग पनि सहज भएकाले आगामी दिनमा भारतीय नागरिक धेरै सङ्ख्यामा आउने व्यवसायीले आँकलन गर्न थालेका छन् । भारतका तीनवटै गन्तव्यबाट सिधा हवाई उडान पनि हुने भएकाले भारतीय पर्यटक बढ्ने उनीहरुको अपेक्षा छ । धार्मिक तथा मनोरञ्जनका लागि भारतीय पर्यटकको रोजाइमा नेपाल गन्तव्य पर्छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईँले भारतका तीनवटै गन्तव्य दिल्ली, मुम्बई र बैंग्लोर गन्तव्यको उडान खोल्ने र पीसीआर हटाएर कोभिडविरुद्धको खोप लगाएका पर्यटकलाई आवतजावत गर्न दिने विषय ठूलो उपलब्धि हो भन्दै नेपालको तर्फबाट पनि कतिपय मापदण्ड सहज बनाएको खण्डमा भारतीय पर्यटकको ओइरो लाग्ने विश्वास दिलाए । नेपालको पर्यटनको भविष्य उज्ज्वल रहेको उनले बताए । “नेपाल सरकारको तर्फबाट पनि खोप लगाएका पर्यटकलाई आउन दिने र अनअराइभल भिसाको व्यवस्था गर्नुपर्छ, हामी निजी क्षेत्रको धारणा पनि यही हो”, उनले भने ।

नेपालको पर्यटन पुनरुत्थानको चरणमा नेपालले धेरै पर्यटकीय गन्तव्यको विकास गरेको छ र पर्यटकलाई ‘इन्गेज’ गराउन सहयोग पुग्ने व्यवसायीको विश्वास छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन क्षेत्र पनि खुलिसकेको र विशेष गरी भारतका तीनवटै गन्तव्यमा नियमित उडान सञ्चालन गरिनुले नेपालको पर्यटन बजारले नयाँ फड्को मार्ने आशा व्यक्त गरे। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२० को जनवरीमा १६ हजार ९७५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । फेब्रुअरी महिनामा पनि १९ हजार ७६६ पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्यामा पनि सबैभन्दा बढी नेपाल आउने पर्यटकमा भारतीय नै छन् । सन् २०२१ मा डेढ लाख हाराहारी र सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको विवरण छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु