रोगले पुरूष र महिला छुट्याउँदैन, मिर्गौला दान गर्नेमा ७२ प्रतिशत महिला

२०७८, २६ फाल्गुन बिहीबार ०७:३९

काठमाडौँ: अधिकारमा पुरुषसँग बराबर हुन दुनियाँका नारी संघर्षरत छन्, तर मानवीय संवेदनामा उनीहरू यति अघि छन् जहाँ पुग्न पुरुषले निक्कै धेरै चेतना विकास गर्नुपर्ने छ । बिहीबार मनाउन लागिएको विश्व मिर्गौला दिवसको सन्दर्भमा कान्तिपुरले संकलन गरेको तथ्यांकअनुसार नेपालका सरकारी तथा निजी अस्पतालमा हालसम्म करिब १७ सय मिर्गौला प्रत्यारोपण गरिएको छ ।

त्यसमध्ये ७२ प्रतिशत दाता महिला छन्, तर मिर्गौला पाउनेमा भने उनीहरूको संख्या जम्मा २२ प्रतिशत छ ।
रोगले पुरुष र महिला भनेर छुट्याउँदैन तर समाज, संस्कार र संवेदनाले छुट्याएकाले पुरुषलाई मिर्गौला चाहिँदा पनि महिला र महिलालाई चाहिँदा पनि महिला नै अघि सर्नुपरेको तथ्यांकले नै पुष्टि गरेको छ । पुरुषलाई मिर्गौला दिन आमा, श्रीमती, दिदीबहिनी र फूपूसमेत अघि सर्छन् । तर महिलाको मिर्गौला प्रत्यारोपण गर्दा अघि सर्ने बाबु, दाजुभाइ, श्रीमान् र छोरा निक्कै कम छन् । त्यसैले धैरै महिलाको प्रत्यारोपण नै रोकिने गरेको छ ।

भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा हालसम्म भएका ८ सय १९ प्रत्यारोपणमध्ये ५ सय ८५ जना अर्थात् ७२ प्रतिशत दाता महिला छन् । तर मिर्गौला पाउने महिला भने १ सय ८१ जना अर्थात् २२ प्रतिशत मात्र छन् । ग्रहणकर्ता ६ सय ३८ जना अर्थात् ७८ प्रतिशत पुरुष हुन् ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ मिर्गौला दिने र लिनेबीचको लैंगिक असन्तुलनलाई हटाउनु अत्यावश्यक ठान्छन् । ‘जीवन बचाउन महिला र पुरुष सँगसँगै अघि सर्नुपर्छ । यसका लागि थप कानुन र सहुलियतसँगै व्यापक जनचेतना आवश्यक देखिन्छ,’ उनी भन्छन् ।

मिर्गौला दिने महिलामा पनि श्रीमती र आमाको संख्या बढी छ । केन्द्रमा गरिएको प्रत्यारोपणमा २ सय ५० जना अर्थात् ३० प्रतिशत श्रीमती र १ सय ६२ अर्थात् २० प्रतिशत आमा छन् । आमाको उमेर बढी हुने र स्वास्थ्यमा प्रतिकूलता बढी देखिने हुनाले चाहेर पनि कतिपयले दिन मिल्दैन ।

आमाले पनि छोरीको दाँजोमा छोरालाई बढी मिर्गौला दिएको देखिन्छ, यसको मतलब छोरीको भन्दा छोराको जीवन ‘खास’ हो भन्ने सामाजिक भावना कारण रहेको चिकित्सकहरूको भनाइ छ । केन्द्रमा भएका प्रत्यारोपणमध्ये छोरालाई १ सय ६२ अर्थात् २० प्रतिशत आमाले मिर्गौला दान गरेका छन् भने छोरीलाई दान गर्ने आमा ६ प्रतिशत अर्थात् ५१ जना छन् । तर आमालाई चाहिँदा ८ जना छोरीले मिर्गौला दान गरेका छन् भने यस्ता छोरा २ जना मात्र छन् । यस्तै, ७२ जना छोरालाई बुबाले मिर्गौला दिएका छन् । तर जम्मा ५ जना छोराले मात्र यस्तो चुनौती स्विकारेका छन् ।

भाइबहिनीबीच हुने मिर्गौला दानमा दाजुभाइको दाँजोमा ५ गुणा बढी दिदीबहिनीले दान गरेका छन् । केन्द्रमा हालसम्म ४८ जना दिदीबहिनीले दाजुभाइका लागि मिर्गौला दान गरेको देखिएको छ भने दिदीबहिनीका लागि अघि सर्ने पुरुषको संख्या १० जना मात्रै छ ।

त्रिवि शिक्षण र वीर अस्पतालको अवस्था पनि फरक छैन । त्रिवि शिक्षणमा गरिएका ७ सयभन्दा बढी मिर्गौला प्रत्यारोपणमा समेत दातामा महिला र ग्रहणकर्तामा पुरुष नै बढी छन् । युरोलोजिस्ट एवं मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा. पवनराज चालिसेका अनुसार अस्पतालमा झन्डै ८० प्रतिशत दाता महिला र ७० प्रतिशत ग्रहणकर्ता पुरुष छन् । त्यस्तै, वीर अस्पतालमा पाँच महिनायता ५ मिर्गौला प्रत्यारोपण गरिएकामा सबै दाता महिला र सबै ग्रहणकर्ता पुरुष छन् ।

मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह अझै पनि महिलाका लागि प्रत्यारोपण सहज नभएको बताउँछिन् । प्रत्यारोपणका लागि महिलाले कम मिर्गौला पाउनु भनेको महिलालाई यो रोग लाग्दैन वा कम लाग्छ भनेर नबुझ्न उनले आग्रह गरिन् । ‘महिला र पुरुषमा समस्या हुने कारण अलि फरक होला तर विश्वमै मिर्गौलाको समस्या दुवैमा लगभग बराबर छ,’ उनले भनिन् ।

समाज र परिवारले पुरुषलाई घरमूली ठानेर बढी महत्त्व दिने र उसलाई नै बचाउनुपर्छ भन्ने सोच रहेको उनको भनाइ छ । प्रायःजसो रोगमा महिलालाई अस्पतालको पहुँचमा नल्याइने उनको अनुभव छ । ‘एक त महिलाले दाता पाउँदैनन्, अर्को उसलाई उपचार वा प्रत्यारोपण गर्न ल्याउने कि नल्याउने भनेर परिवारले सोच्ने अवस्था छ,’ शाहले भनिन्, ‘श्रीमान्ले श्रीमतीलाई र सासूससुराले बुहारीलाई अस्पतालसम्म प्रत्यारोपण गराउन ल्याउने कम नै हुन्छन् ।’

श्रीमान्को मृत्युपछि एकल महिलालाई हेर्ने दृष्टिकोणले जसरी पनि श्रीमान्लाई बचाउनुपर्छ भन्ने सोच महिलामा विकास हुने गरेको उनको भनाइ छ । ‘आमाले त माया लागेर दिने नै भए, श्रीमान्ले पनि नदिएका होइनन् तर कम छन्,’ उनले भनिन् ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले सद्भावमा जहिल्यै पनि महिला अगाडि रहेको र मिर्गौलाको सवालमा पनि यही देखिएको बताउँछन् । ‘महिलाको मन कमलो हुन्छ, सहयोगी भावनाका हुन्छन्,’ उनले भने, ‘त्यसैले मिर्गौला दिन पनि आमा वा श्रीमती नै अगाडि सर्छन् । बुबा हतपती अगाडि आउँदैनन् ।’ उनले डायलसिस गराइरहेकी श्रीमतीलाई छाडेर गएका घटना पनि देखेको सुनाए ।

मिर्गौला दानमा हुने असन्तुलन छिमेकी भारतका पिछडिएका राज्यमा पनि विद्यमान छ । द इन्डियन सोसाइटी अफ नेफ्रोलोजीका अध्यक्ष एवं इन्डियन सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेसनका पूर्वउपाध्यक्ष प्रा.डा. सञ्जीव गुलाटीका अनुसार सहरी क्षेत्रमा भने यो असन्तुलन घट्दो छ । ‘नेपालमा झन्डै ७०–८० प्रतिशत मिर्गौला दाता महिला भएजस्तो अवस्था विहार, उत्तर प्रदेशलगायत राज्यका ग्रामीण क्षेत्रमा विद्यमान छ,’ उनले कान्तिपुरसँग भने, ‘दिल्लीलगायत सहरी क्षेत्रमा भने धेरै परिवर्तन भइसकेको छ ।

सहरी क्षेत्रमा ६० प्रतिशत मिर्गौला दाता महिला र ४० प्रतिशत ग्रहणकर्ता पुरुष छन् ।’ नेपाली र भारतीय समाजमा पुरुषलाई घरव्यवहार चलाउने र कमाउने व्यक्तिका रूपमा लिइने र अंग दान गरे क्षमता घट्दै जाने धारणा रहेको उनको भनाइ छ । ‘यस्तो गलत बुझाइले महिला आफैं अंग दानमा अगाडि आउँछन्, पुरुष हच्किन्छन्,’ उनले भने ।
महिलाले पनि प्राथमिकतासाथ मिर्गौला प्रत्यारोपण गर्न पाऊन् भनेर मस्तिष्क मृत्युबाट प्राप्त हुने मिर्गौला वितरणमा महिलालाई पुरुषको दाँजोमा तेब्बर प्राथमिकता दिइएको डा. श्रेष्ठ बताउँछन् । वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेत मस्तिष्क मृत्युपछि मिर्गौलालगायत अंग दान गर्ने क्रम बढेमा पारिवारिक सदस्यले नै अंग दान गर्नुपर्ने बाध्यतामा केही कमी आउने बताउँछन् । ‘मस्तिष्क मृत्युबाट मिर्गौलालगायत अंग प्राप्त गर्ने बन्न जरुरी छ,’ उनले भने, ‘यसले पारिवारिक सदस्यले नै अंग दिनुपर्ने बाध्यतामा कमी ल्याउँछ ।’

कानुनमा के छ ?

मानव शरीरको अंगप्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ मा परिवारका सदस्य वा नजिकका नातेदारबाट अंग लिनदिन सकिने व्यवस्था छ । परिवारका सदस्यमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरा पर्छन् ।

यस्तै, नजिकका नातेदारमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबाबु, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससूरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फूपू, फूपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानलाई राखिएको छ । तर, धर्मपुत्र, धर्मपुत्री वा वैवाहिक सम्बन्धबाट कायम भएको नाता भने कम्तीमा दुई वर्षदेखि अटुट कायम रहेको हुनुपर्नेछ ।

मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह भन्छिन्, ‘२० देखि ३० प्रतिशत महिला मात्र ग्रहणकर्ता छन् भने बाँकी सबै पुरुष ।’ उनका अनुसार सबैभन्दा बढी आमा, श्रीमती, बहिनी त्यसपछि बुबा, भाइ र श्रीमान्ले मिर्गौला दिएका छन् ।

अघि सर्छन् महिला

महिला कसरी अघि सर्छन् भन्ने उदाहरण भने अनेक छन् । सुनचाँदी व्यवसायमा संलग्न बर्दियाका टेक सुनार ६ वर्षदेखि मिर्गौलाको डायलसिस गराइरहेका थिए । उनी मिर्गौला प्रत्यारोपण गर्न चाहन्थे तर परिवारका कसैको मिलिरहेको थिएन । ४१ वर्षीया पत्नी तिलसरामा सुगर देखिएपछि औषधि सेवन गरिरहेकी थिइन् । ६ महिनामा सुगर नियन्त्रणमा आएपछि गत बुधबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उनले ४५ वर्षीय पतिलाई मिर्गौला दान गरिन् ।

दोलखाका १९ वर्षीय साजन कार्कीले पनि गत बिहीबार मिर्गौला प्रत्यारोपण गरे । उनलाई ५१ वर्षीया फूपूदिदी कमला खड्काले मिर्गौला दिएकी छन् । खड्का भन्छिन्, ‘छोरो सम्झिएर मिर्गौला दिएको हुँ । अहिले मैले हेरें, उसले पछि हेर्ला नि ।’

बुटवलकी रूपा गुरुङलाई जेठो छोराले मिर्गौला दिने इच्छा गरेका थिए । तर, गत बुधबार मात्रै ५६ वर्षीय पति पदमबहादुरले मिर्गौला दान गरे । ‘मैले नै निधो गरेर दिएँ,’ उनले हाँस्दै भने, ‘उसका लागि ज्यानै दिन तयार छु नि, अप्रेसन गर्दा पनि डर लागेन ।’

त्यस्तै, ५५ वर्षीय रत्नकाजी बज्राचार्यको पाटन टंगलस्थित मीननाथ मन्दिर परिसरमा धागो तथा कपडाको पसल छ । २२ वर्षको उमेरमा उनलाई पहिलो पटक मिर्गौलाको समस्या देखियो । प्रत्यारोपण नै गर्नुपर्ने भएपछि आमा र माइली बहिनी अघि सरे । २०४८ मंसिर २ गते भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइनसेन्जमा पुगेर उनले मिर्गौला प्रत्यारोपण गराए । उनलाई आमाले मिर्गौला दिएकी थिइन् । उनको पाँच तल्ले घरको हरेक कोठा कपडाका विविध सामानले भरिएका छन् । ग्राहक धेरै आउँदा खानपिनको मेसो पाउँदैनन् । छेउमै बसेर कुरा बसिरहेकी ८० वर्षीया आमा तीर्थमायालाई देखाउँदै रत्नकाजीले भने, ‘आमालाई अहिले पनि मेरो स्वास्थ्यको चिन्ता छ । समयसमयमा पानी खान भन्नुहुन्छ ।’ छोराको कुरा सुन्दै गर्दा तीर्थमाया मुसुक्क हाँसिन् र भनिन्, ‘आखिर एक दिन मान्छे मर्नैपर्छ । छोरा त झन् मुटुको टुक्रा । माया नै ठूलो भएर होला मिर्गौला दान गर्दा डर लागेन ।’

भारतमा प्रत्यारोपणका लागि जाँदा धेरैले ‘अब रत्नकाजी फर्केर आउँदैन’ पनि भने । स्वस्थ जीवनयापन गरी व्यवसाय सम्हालिरहेका उनलाई अहिले उनीहरू सबै छक्क पर्छन् । प्रत्यारोपण गरेर आएको केही महिनापछि नै उनले व्यापार सुरु गरे । मिहिनेतले घर पनि बनाए । मन्दिर परिसरमै घर भएकाले परेवाको दिसाको धूलोबाट उनलाई संक्रमण भयो । प्रत्यारोपणको १४ वर्षपछि संक्रमणले मिर्गौला काम नलाग्ने बनाइदियो । २०६२ पुस १८ मा उनले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरे । यसपल्ट भने उनलाई ३० वर्षीया माइली बहिनी हीराशुभाले मिर्गौला दान गरिन् । ‘मलाई त खासमा आमा र बहिनीले नै जीवन दान गरे,’ रत्नकाजी भन्छन् ।

विराटनगरकी ४५ वर्षीया मनीषा अछामीले २०७८ कात्तिक २४ मा ग्रान्डी अस्पतालमा ५३ वर्षीय पति श्यामलाल रोकालाई मिर्गौला दान गरिन् । चार वर्षदेखि मिर्गौलापीडित रोका बैंकर हुन् भने मनीषा अछामी शिक्षिका । प्रत्यारोपणपछि श्यामलाल स्वस्थ छन् भने मनीषा खुसी । भन्छिन्, ‘डायलसिसका लागि अस्पताल धाइरहनुपर्थ्यो, प्रत्यारोपणपछि त सहज भएको छ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु