काल मडारिएको देखेँ- कवि: सुरेन्द्र चौहान
बुरुक्क बुरुक्क गर्दै गाउँमा, सिंह उफ्रेको देखेँ
सकल मनुष्य त्रासले आज, कुटिमै थुप्रिएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
बिचरा ! मानवता त मरिचझैँ, चाउरिएको देखेँ
घमण्ड अहमपन भने, जताततै बहुरिएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
शान्ति र सद्भाव त, लोकबाटै लोप भएको देखेँ
मान्छे भित्र-भित्रै रिसले, क्षोभ भएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
मानिसहरु आँखा चिम्लेर अन्धभक्त भएको देखेँ
आफ्नो निहित स्वार्थमा आशक्त भएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
शिक्षितभन्दा अशिक्षित सभ्य भएको देखेँ
जगतभर बन्दाबन्दीको त्रास भव्य भएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
मजदुरहरु खाली खुट्टा पोको बोकी रुँदै हिडेको देखेँ
तिनका खाली पेट र फुटेका खुट्टाले मन छुदै हिडेको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
फेसबुकका भित्ताहरुमा मानिस नाङ्गिएको देखेँ
नियालेर हेर्दाखेरी उसको बिचार पनि बाङ्गिएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
देउताले मानिस र मानिसले देउता बनाएको देखेँ
मानिसले नै धर्म, संस्कृति र परम्परा चोइटाे बनाएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
आखैँ अगाडि आएर काल मडारिएको देखेँ
मृत्युबाहेक सबै कुरा नयनबाट बढारिएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।