महानगरपालिकाले दशैँलक्षित बजार अनुगमन

२०७९, ११ आश्विन मंगलवार १३:११

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले दशैँलक्षित बजार अनुगमन गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर डंगोल नेतृत्वमा दशैँलक्षित बजार अनुगमन गरेको हो ।

उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरूमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरूमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन् । उनले कतिपयलाई दर्ता गराउने कुराहरू नै थाहा नभएको र उनीहरूलाई सचेत गराइएको बताइन् ।

बेच्ने मात्र नभइ किन्ने मानिसहरूमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको उनले बताइन् । उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिने प्रतिवद्धता जनाइन् । जानेर बजारमा उपभोक्ताहरूलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरूलाई कानूनअनुसार कारबाही गर्ने उनको चेतावनी छ ।

‘दशैँको समयमा धेरै अनियमितता हुने देखिएको छ, बजारमा मूल्य धेरै हुने, कति कुराहरू सकिसक्यो भनेर स्टोर गरेर राख्ने भएका छन् । सचेतना जगाउनका लागि हामीले अनुगमन गरेका हौँ,’ उनले भनिन्, ‘कतिपयलाई दर्ता गराउने कुराहरू नै थाहा छैन । सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानूनी कारबाही गर्नेछौँ । बेच्ने मान्छे मात्र नभइ किन्ने मान्छे पनि खाद्य र अखाद्यको पहिचान गर्न नसकेको हामीले पायौँ । हामी जति ठाउँमा गयौँ त्यहाँ अखाद्य नै बेचिरहेको पायौँ । दशैँपछि पनि हामीले टिमटिम बनाएर अनुगमन गर्नेछौँ ।’

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन् । उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बताइन्। उनले विभागबाट भएका कमजोरीलाई आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाइन् ।
त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाए । उनले महानगरले गरेको आजकै अनुगमनमा पनि सरकारी संस्थाहरूमा नै अखाद्य सामग्री फेला परेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले उत्पादक र आयातकर्ताको स्पष्ट ठेगानाविनाका खाद्य सामग्रीहरू धेरै भेटिएको उल्लेख गर्दै यस्ता सामग्री बिक्री गर्न कानूनले नै वर्जित गरेको बताए । उनले सरकारी संस्थाहरूमा नै अखाद्य सामग्री भेटिएको भन्दै सरकारी संस्थाहरू सबैभन्दा बढी परादर्शी र स्वस्थ रहन आवश्यक रहेको बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु