बगनासकालीमा थपियो साहित्यिक सम्पत्ती

२०७९, २४ भाद्र शुक्रबार १५:३०

भोजराज भट्टराई
पाल्पा, २४ भाद्र ।
बगनासकाली गाउँपालिकाले पालिकाभित्र बृहत साहित्यिक अनुसन्धानसहित साहित्यिक सम्पत्ती थप गरेको छ । निजामति दिवसको सन्दर्भ पारेर गाउँपालिकाले पालिकाभित्रका साहित्यको अनुसन्धान कृति प्रकाशनसहित साहित्यिक सम्पत्ती जुटाएको हो ।
बुधबार गाउँपालिका सहभाहलमा एक समारोहका विच ‘साहित्यमा बगनासकाली’ अनुसन्धनात्मक कृति सार्वजनिक गरिएको छ । योसँगै दिवसको अवसरमा आयोजित निबन्ध, महिला दौड तथा व्याडमिण्टन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।


कृति सार्वजनिक समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले भाषा, कला, संस्कृति संरक्षणमा बगनासकाली प्रतिबद्ध रहेको बताउनुभयो भयो । चिदीले गाउँसभा, कार्यपालिकाको निर्णय कार्यसम्पादनमा कर्मचारीको भूमिका महत्त्वपूर्ण रहने भन्दै मुस्कानसहितको सेवा प्रवाहमा जुटन् कर्मचारीलाई आग्रह गर्नुभयो । सुशासनसहितको सरल सेवाप्रवाहका लागि कर्मचारी र जनप्रतिनिधिबीच हार्दिक समन्वय हुनुपर्नेमा चिदीले जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बौद्धिक कार्यक्रमको संयोजनसहित कृति विमोचन पालिकाको लागि ऐतिहासिक संयोग भएको भनाइ राख्नुभयो । पाठकले साहित्य सधैं अजर अमर रहने भन्दै बगनाकालीको भाषा, कला साहित्य संरक्षणमा कार्यविधिसहित पालिका अगाडि बढ्ने बताउनुभयो । उहाँले साहित्यको समानुपातिक विकासले सार्थकता राख्ने भएकोले भाषा, कला, साहित्यको प्रवद्र्धनमा बगनासकाली गाउँपालिका निरन्तर लागिपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले कर्मचारीहरूमा हार्दिकता बढाउन सकेमा कार्यसम्पादन प्रभावकारी हुने भन्दै निजामती दिवसलाई विशेष कार्यक्रमका साथ मनाइएको बताउनुभयो । बगनासकाली गाउँपालिकाद्वारा प्रकाशित कृति साहित्यिक अनुसन्धान प्रयोजनका लागि स्रोत सामग्रीका रूपमा उपयोगी रहेको छ । उक्त अनुसन्धाननात्मक कृति लेखन सम्पादनमा साहित्यकार डा.शंकर गैरे जुट्नु भएको हो । लेखक गैरेले बगनासकालीमा साहित्यको पहिचान र आफ्नो अस्तित्वको अनुभूति गराउनुभएको छ । ‘साहित्यमा बगनासकाली’ नामको अनुसन्धान कृतिले बगनासकालीको बृहत्तर साहित्यिक पहिचानमा पनि योगदान दिएको समीक्षक टंक पन्थले बताउनुभयो । समीक्षक पन्थले बगनासकालीको साहित्यलाई समृद्ध बनाउन लेखकको योगदान रहेको भन्दै गाउँपालिकाले साहित्यमा अपनत्व लिइ बगनासकालीको साहित्यिक क्षेत्रलाई फराकिलो बनाएको औंल्याउनुभयो ।

लेखकीय शुभकामना व्यक्त गर्दै त्रि.व.क्या.पाल्पाका क्याम्पस प्रमुख टंक भट्टराईले साहित्यिक अनुसन्धान सहित कृति प्रकाशन देशका अन्य स्थानीय तहका लागि अनुसरणयोग्य कार्य भएको बताउनुभयो । कार्यक्रममा पाल्पा जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले साहित्यिक अनुसन्धान पालिकामा स्रष्टाहरूको गरिमा भएको धारणा राख्नुभयो । निजामती कर्मचारी ट्रेड युनियन पाल्पा अध्यक्ष मनोज आचार्यले बगनासकाली साहित्य र पत्रकारिताको उद्गम स्थल भएको भन्दै अनुसन्धानात्मक साहित्यिक कृति बगनासकालीको साहित्यिक खजाना भएको बताउनुभयो । लेखक डा. शंकर गैरेले कृति गाउँपालिकाको साहित्यिक सम्पत्ती भएको भनाई राख्दै अनुसन्धान कृति बगनासकालीका स्रष्टाहरूको लेखनको जगमा उभिएको बताउनुभयो ।
गाउँपालिकाले निजामती दिवसको अवसरमा निबन्ध प्रतियोगिता, महिला दौड, व्याण्डमिण्टन प्रतियोगिता आयोजना गरेको थियो । जस अन्र्तगत अन्तर कर्मचारी निबन्ध प्रतियोगितामा भोजराज भट्टराई प्रथम, हरिहर गैरे द्वितीय, सुजन घिमिरे तृतीय र कोशलराज पौडेल सान्तवना हुनभएको छ । बिजेता प्रतियोगीलाई क्रमश ७ हजार, ६ हजार, ५ हजार र ३ हजार ५ सयका साथमा ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो ।


यस्तै अन्तर कर्मचारी व्याडमिण्टन प्रतियोगितामा गणेश कुँवर र नारायण न्यौपानेको समुह प्रथम, विष्णु घर्ती र टिकाराम पौडेलको समुह द्वितीय, कल्याणसिंह पाण्डे र प्रमेबहादुर बगालेको समुह तृतीय, धनकुमारी राना र नन्दाचिदीको समुह सान्त्वना हुनुभयो । विजेता प्रतियोगीलाई क्रमश ६ हजार, ४ हजार, २ हजार र १ हजारको साथमा ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो ।
पालिकास्तरी खुल्ला महिला दौड प्रतियोगितामा विष्णु तिमिल्सिना प्रथम, दिलु गाहा द्वितीय, सीता लम्तरी तृतीय र शर्मिला वली सान्तवना हुनुभयो । बिजेता टोलीलाई क्रमशः ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजारका साथमा ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो ।
बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख सुजन घिमिरेले गर्नुभएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु