बालकथा: जनावरहरुको एकता
जङ्गलमा धेरै रुखहरू थिए । जङ्गल सुन्दर थियो । धेरै प्रकारका चराचुरुङ्गी र जनावरहरू त्यस जङ्गलमा बस्ने गर्दथे । जङ्गलमा बहुमूल्य वनस्पतिहरू पनि थिए । सुन्दर चराहरू थिए । लोप हुनलागेका जङ्गली जनावरहरूको बासस्थान पनि त्यही जगल नै थियो । जङ्गलको सुन्दरताले सबैको मन लोभ्याउथ्यो । जङ्गलमा घुम्न टाढाटाढाका मानिसहरू पनि आउने गर्दथे । त्यो जगल एक प्रकारको रमाइलो पार्क (बगैचा) जस्तै थियो ।
जङ्गलमा जङ्गली जनावरहरू, वनस्पतिहरू, चराहरू, ठूला अग्ला रुखहरू, बाँसका झ्याङ्ग, ऐंसेलुका बोटहरू, निगालोको झाडी आदि पनि थिए । जङ्गलभित्रको बालुवानी क्षेत्रमा बयरका बोटहरू थिए । धापिलो क्षेत्रमा निगुरोका झाडीहरू प्रशस्त थिए । मानिसहरू ऐंसेलु, निगालो तथा निगुरो आदि टिप्न जङ्गलमा आउने गर्दथे । गाई, बाख्रा चराउन, घाँस दाउरा खोज्न, स्याउला-पात, जडिबुटी तथा काठ काट्न पनि थुप्रै मानिसहरू जङ्गलमा जाने आउने गर्दथे ।
जङ्गलमा थुप्रै जङ्गली प्राणीहरूमध्ये लामोलामो सिङ भएको एउटा अजङ्गको कालो अर्ना पनि थियो । डरलाग्दो सिङ भएको कालो ठूलो अर्नादेखि जङ्गलमा जाने मानिसहरू, जङ्गलमा बस्ने सवै जनावरहरू पनि डराउँदथे । घाँस-दाउरा गर्न, गाईवस्तु चराउन, जङ्गल डुल्न गएका सबै मानिसहरू पनि अजङ्गको अर्नासँग डराउँदथे । घरपालुवा पशुहरूलाई यसले ठाडै लखेट्ने गर्दथ्यो । जङ्गलमा बस्ने अन्य जङ्गली पशुहरूलाई पनि यसले सधैँ थर्काउने गर्दथ्यो । मृग, जरायो, स्याल लगायतका प्राणीहरू अजङको अर्नाको हेपाहा प्रवृत्तिले वाक्क दिक्क भएका थिए । सधैँ थर्काउने, डर र चिन्ता लिएर बाँच्नु पर्ने, राम्रोसँगले चर्न, झारपात खान, पानी पिउन समेत अर्नाको आँखा छलेर मात्र गर्नुपर्ने बाध्यता थियो । अर्नाले आफूलाई त्यो जङ्गलको सम्राट भै ठानेको थियो । अर्ना जङ्गलमा हिँड्न थालेपछि सबै जनावरहरू आ-आफ्नो बाटो लाग्दथे । उसलाई देख्ने बित्तिकै सबै जनावरहरू लुक्ने गर्दथे । गोठालाहरू पनि अर्ना आएको थाहा पाएपछि भाग्ने गर्दथे । जङ्गलमा चराउन लगिएका गाई, भैसी, बाखा सबैलाई देख्ने बित्तिकै लखेट्ने गर्दथ्यो । अर्नाको हेपाहा तथा मिचाहा प्रवृत्तिले जङ्गलका सबै जनावरहरू वाक्क दिक्क भएका थिए ।
अर्नाको अत्याचारबाट वाक्क भएका सबै जगली जनावरहरू एक दिन भेला भए । अर्नाको अत्याचारबाट कसरी मुक्ति पाउने ? भन्ने उपायका बारेमा छलफल गर्न सबै जङ्गली जनावरहरू एकै ठाउँमा भेला भए । सबैले अर्नालाई तह लगाउने उपायका बारेमा विचार विमर्श गर्न थाले ।
स्यालले भन्यो, “साथी हो ! अर्को जङ्गलबाट ठूलो बाघलाई यस जङ्गलमा ल्याउनुपर्छ । बाघले त्यस अत्याचारी अर्नालाई मारेर खान्छ ।”
स्यालको कुरा सुन्ने बित्तिकै मृगले भन्यो, “धत् उल्लु स्याल ! त्यसरी बाघलाई निम्तो दिइयो भने हामी सबैलाई त्यस बाघले खान्छ, अनि तँलाई पनि बाँकी राख्दैन । त्यसैले एउटा अत्याचारी अर्नालाई तह लगाउन अर्को निरङकुशलाई स्थान दिइनु हुन्न । अर्नालाई तह लगाउन अर्को कुनै नयाँ उपाय सोच्नुपर्छ ।” मृगले आफ्नो तर्क टुङ्ग्यायो । तर अर्ना तह लगाउने उपाय भने पत्ता लागेन ।
सभाको छेउमा बसेर सबै कुरा सुनिरहेको जरायोले भन्यो, “हैन मृग भाइ ! हामी यत्ति थुप्रै साथीभाइ मिलेर पनि एउटा अत्याचारी अर्नालाई कसरी ठेगान लगाउन नसकेका हौँ ? यो जङ्गल त्यो उन्मत्त अर्नाको मात्रै हो र ? हामीहरूले यहाँ शान्तिपूर्वक बस्न नपाउने ? सधैँ अत्याचारी अर्नाको अत्याचार कति सहेर बस्ने ? केही न केही उपाय त लगाउनै फ्यो” जरायोले भन्यो ।
सबैको कुरा सुनिरहेको सानो खरायोले भन्यो, “दाजुदिदीहरू हो ! हुन त म सानो खरायो हुँ । मलाई त त्यो अत्याचारी अर्नाले त्यत्ति धम्की दिन भ्याएको छैन । किनकि म सानो छु । सानातिना झाडी र दुलाहरूमा लुकिहाल्छु । त्यसैले त्यसले मलाई देख्दा पनि देख्दैन । तर पनि तपाईंहरूको दुःखको कुरा सुनेर मलाई पनि केही भन्न मन लाग्यो । यदि तपाईंहरूले मलाई अनुमति दिनुहुन्छ भने म पनि केही तर्कहरू राखूँ कि ?”
सबैले खरायोको कुरा चाख मानेर सुनिरहेका थिए । सबैले एकै स्वरमा भने, “भनन खरायो भाइ ! तिमीलाई उन्मत्त अर्ना तह लगाउने उपाय थाहा भए छिटो भन हामीलाई यसले साह्रै सतायो । बरु छिटो भन ।”
सबै जनावरहरूको अनुरोध सुनेर खरायो खुसी हुँदै भन्न थाल्यो, “दाजुदिदीहरू ! यस अत्याचारीलाई तह लगाउने एउटै मात्र उपाय छ । त्यो उपाय भनेको हामी सबैको एकता हो । त्यस अर्नाले हामी एक्लाएक्लै हिँड्ने बस्ने तथा चर्न र सिकार खोज्न जाने गर्नाले नै हामीलाई हेपेको हो । हामी सबैजना एकजुट भएर बस्ने, चर्न र सिकार खोज्न एकजुट भएर निस्कने हो भने हाम्रो एकता देखेर ऊ त्यसै डराउनेछ । यदि ऊ डराएन र हामीमाथि फेरि पनि आक्रमण गर्न आयो भने त्यसलाई हामी सबैको एकताबाट लखेट्नुपर्छ”।
खरायोको कुरा सुनेर स्यालले भन्यो, “ए खरायो भाइ ! त्यसलाई हामीले कसरी लखेट्ने नि ?”
“ल, स्याल दाइ पनि त्यसलाई लखेट्न गाह्रो कहाँ छ र ? जरायो दाइको लामा र तिखा सिङ त्यसतर्फ फर्काउने, हरिण र मृग दाइहरूको सिङ पनि त तिखा छन् नि ! सबैले त्यसलाई छेक्ने अनि स्याल दाइ तपाईंको तीखो स्वरले चाहिँ त्यस पापी अर्नाको कानैमा गएर कराउने नि ! त्यसपछि त मेरो सेतो हिउँ जस्तो शरीर त्यस निरङ्कुश अर्नाको आँखै अगाडि पुयाएर देखाउने छु । अर्ना आत्तिएर हाम्रो एकता र आक्रमणको योजना देखेर यस जङ्गलबाट सधैँका लागि कुलेलम ठोक्ने छ ।” सानो खरायोले आफ्नो योजना सबैलाई सुनायो ।
सानो खरायोको ठूलो बुद्धि देखेर सबै जिल्ल परे । सबैले एकै स्वरमा खरायोको प्रस्तावलाई स्वीकार गरे । “हुन्छ, हुन्छ खरायो भाइ; भोलि बिहान हामी तिमीले भने झैँ गर्ने । हामी एकजुट हुने, चर्न र सिकार गर्न एकैसाथ हिँड्ने; हाम्रो एकता देखेर अत्याचारीले हामीमाथि आक्रमण गरेन भने ठिकै छ नत्र तिमीले भने झैँ हामी पनि मोर्चाबन्दी गरी त्यस पापी विरुद्धमा खनिनुपर्छ ।”
भोलि बिहान सबैले अघिल्लो दिन सल्लाह गरे झैँ गरी एकै ठाँउमा भेला भएर चर्न र सिकारमा निस्किए । सबै जनावरहरू एकैसाथ देखेर अत्याचारी अर्ना जिल्ल पयो । अर्नाले कसैलाई पनि आक्रमण गर्न, धम्क्याउन र लखेट्न सकेन । धेरै दिनसम्म पनि कुनै पनि जनावरहरूलाई एक्लाएक्लै नदेखेर कसैलाई पनि तर्साउन सकेन । यसरी धेरै दिनहरू बित्तै गए । जनावरहरूको एकता झन बलियो बन्दै गयो । दम्भी अर्ना जनावरहरूको एकता देखेर हैरान भयो । लामो समयसम्म पनि एकता टुट्न नसकेको देखेर निरङ्कुश अर्ना त्यो जङ्गल छाडेर अन्यत्रै गयो । अर्नालाई जङ्गलमा कही कतै नदेखेर सबै जङ्गली जनावरहरू हर्षित भएर आनन्दले त्यस जङ्गलमा दिनरात बिताउन थाले ।