तरकारी सीसीटीभीबाट निगरानी

२०७८, २६ चैत्र शनिबार ०८:३२

कपिलवस्तु: बारम्बार तरकारी चोरी हुने गरेपछि तनाव र चिन्तामा परेका शिवराज नगरपालिका–२ चन्दनपुरका कलादेव थारूले खेतमा सीसीटीभी जोडेपछि समस्याबाट छुटकारा पाएका छन् । चोरले ज्यादै सताएपछि उनी तरकारी खेती गर्ने कि नगर्ने भन्ने दोधारमा थिए । तरकारीको सुरक्षा गर्न रातभरि खेतमा खाट राखेर जाग्राम बसे । तर सधैं यसरी सुरक्षा गर्न सम्भव थिएन । कृषि प्राविधिकसँगको सल्लाहपछि उनी सीसीटीभी क्यामरा जडान गर्ने निष्कर्षमा पुगेका हुन् ।

आफूले फलाएको गोलभेंडालगायत तरकारी बेचेर ४० हजार रुपैयाँ जम्मा गरे । र, त्यसले खेतमा दुईवटा सीसीटीभी क्यामरा जडान गरे । अहिले उनको खेतबाट चोरी हुने समस्या टरेको छ । ‘तनाव पनि कम भयो,’ उनले भने, ‘आरामले सुत्न पाएको छु ।’ घरदेखि दक्षिणमा रहेको खेतमा एउटा खाँबो झुन्ड्याएर र अर्को टनेल खेतीको धुरीमा सीसीटीभी क्यामरा राखेका छन् । त्यसको कनेक्सन टेलिभिजन सेटमा जोडेका छन् । घरभित्रै रहेको टेलिभिजन सेटबाट उनले खेतको रेखदेख गर्छन् । तत्कालका लागि कम्प्युटर किन्न नसकेपछि टेलिभिजन सेट प्रयोग गरिएको उनले बताए ।
सामान्य लेखपढ गर्न जान्ने उनी आठ महिनादेखि सीसीटीभी क्यामरा जोडेर कृषि कर्ममा रमाएका छन् । उनले १४ कट्ठा जमिनमा साढे ३ वर्षदेखि तरकारी खेती गरिरहेका छन् । ‘मौसमअनुसारको तरकारी खेती गर्छु नै,’ उनले भने, ‘बेमौसमी तरकारी खेतीलाई पनि पछ्याइरहेको छु । किनभने त्यसमा चार गुनासम्म फाइदा हुन्छ ।’ टनेलमा तरकारी खेती गर्दा रोगकिराको समस्या कम हुने उनको भनाइ छ ।

टनेल बनाउन गत असारमा नगरपालिकाले साढे ३ लाख रुपैयाँ अनुदान दिएको थारूले बताए । ‘त्यसमा डेढ लाख थपेर १८ मिटर चौडा र १२ मिटर लामो प्लास्टिकको आधुनिक टनेल बनाएको छु,’ उनले भने, ‘टनेलभित्रै थोपा सिँचाइ प्रविधि पनि जडान गरेको छु ।’ टनेलभित्र काँक्रो, बोडी र भेडे खुर्सानी लगाएका छन् । अहिले दैनिक १२/१५ किलो काँक्रो उत्पादन भइरहेको उनले बताए । ‘काँक्रो बेचेर मात्रै अहिले सातामा एक हजार आम्दानी गरिरहेको छु,’ उनले भने, ‘अझै १५/२० दिन यसरी नै बेच्न पाए त राम्रै हुन्थ्यो ।’
अहिले उनको खेतमा गोलभेंडा, भान्टा, करेला, भिन्डी र खुर्सानी लटरम्म फलेका छन् । यस वर्ष उनले एउटै बोटमा ९ किलोसम्म गोलभेंडा फलाएको बताए । ‘प्रतिकिलो ७० रुपैयाँका दरले ५० क्विन्टल गोलभेंडा नै बेचें,’ उनले भने, ‘तीन महिनाअघि ५ क्विन्टल काँक्रो बेचें ।’ बन्दा, फूलगोभी, सिमी र करेला बेचेर पनि राम्रै आम्दानी गरिरहेको उनले सुनाए । दुई बुहारी र आफू बूढाबूढी १२ घण्टा तरकारीको स्याहारसुसारमै व्यस्त रहने उनले सुनाए । ‘चार वर्षअघिसम्म घरायसी प्रयोजनका लागि तरकारी लगाउँथ्यौं,’ बुहारी इन्दु थारूले भनिन्, ‘अहिले यसैलाई पेसा बनाएका छौं ।’ बजारको समस्या छैन । व्यापारी घरसम्मै आएर लैजान्छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु