काठमाडौँ उपत्यकामा ट्याक्सीको भाडा बढ्यो

२०७८, २५ पुष आईतवार ११:०२

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीको भाडा बढाइएको छ  । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले माघ १ गतेदेखि लागु हुनेगरी भाडादर वृद्धि गरेको हो ।

फाइल फोटो
पुस २० गते बसेको मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार ट्याक्सी सेवा प्रदायकले सर्तहरु पालना गर्ने गरी ‘भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८’ बमोजिम भाडादर समायोजन तथा निर्धारण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ मूल्य अनुसार पहिलो १ किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरेको छ। सो १ किलोमिटरपश्चात प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसाको दरले थप हुने गरी कायम गरिएको छ । सो भाडादर लागु गर्न मन्त्रालयले केही शर्तहरु तोकेको छ।

मन्त्रालयले ट्याक्सीहरुले पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नु पर्ने बताएको छ । यसका साथै सेवाग्राहीले ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बर सहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा भएको भिजिटिङ्ग कार्ड उपलब्ध गराउनुपर्नेछ ।

त्यसैगरी, ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखि नजिकको प्रहरीलाई सूचना दिनुपर्ने, ट्याक्सी नियमित रुपमा सरसफाई गरी लैङ्गिक विभेद रहित सेवाग्राही मैत्री व्यवहार गर्नुपर्नेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु