ध्वनी प्रदूषण मानव स्वास्थ्यजन्य समस्या पनि हो : बालेन्द्र शाह

२०७९, २२ श्रावण आईतवार १७:०४

काठमाडौँ – काठमाडौँमा आजदेखि पुनः ‘नो हर्न’ अभियानलाई सुरु भएको छ । २०७४ साल वैशाख १ गते पहिलो पटक यो अभियान थालिएको थियो । अभियान सुरुवातमा प्रभावकारी थियो । विस्तारै सवारी चालकले ‘नो हर्न’ अभियान वेवास्ता गर्न थालेपछि यसलाई फेरि थालिएको हो ।

आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र महानगरीय प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले ‘नो हर्न’ लेखिएको स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रम शुभारम्भ गर्नुभएको हो । पहिलो चरण (२०७४ साल) मा अभियान थाल्दै हर्न नबजाइकन पनि सवारी साधन चलाउन सकिन्छ भन्ने सन्देश दिन काठमाडौं महानगरको नेतृत्वमा मोटरसाइकल र्‍याली गरिएको थियो ।

त्यस क्रममा बोल्दै प्रमुख शाहले, ध्वनी प्रदुषण सडक व्यवस्थापनमा मात्र नभइ वातावरणीय र मानव स्वास्थ्यजन्य समस्या रहेको बताए । ‘अगाडि कुनै न कुनै प्रकारको समस्या भएर नै सवारी जाम हुने हो । पछाडिका सवारी साधनले हर्न बजाउँदा अगाडिको समस्या समाधानमा सहयोग पुग्दैन । बरु वातावरण र जनस्वास्थ्यमा समस्या थपिन्छ ।’

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक चौधरीले, अभियानलाई सफल बनाउन सबै पक्षबाट सहयोग हुनु पर्ने बताए।  सवारी चालकहरूले अब सामान्य अवस्थामा हर्न बजाउन पाउने छैनन् । सवारी दुर्घटना हुने अवस्था भयो, सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आयो भने चालकले छोटो हर्न बजाउन सक्नेछन् । यदि कसैले यसको पालना गरेन भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना हुनेछ ।

यो नियम एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, शव वाहन, दमकलका लागि लागू हुने छैन ।  अभियानलाई सफल बनाउन पदमकन्या क्याम्पसका विद्यार्थीहरू सचेतनाका लागि १५ दिन सडकमा खटिनेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु