किन प्रचण्डले जापान भ्रमणमा गलत कुरा गरे!!

२०७९, २१ श्रावण शनिबार २३:००

टोकियो: पुष्पकमल दाहाल ५ दिने जापान भ्रमणका क्रममा शनिबार बिहान टोकियो पुगेका छन् । नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा दाहाललाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायतका दूतावासका अधिकारी पुगेका थिए । त्यस्तै जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि उनको स्वागतमा पुगेका थिए । 

पूर्वप्रधानमन्त्रीका रूपमा सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २/३ पटक कुराकानी भएको दाबी गदै सञ्चारकर्मीसँगकै कुराकानीमा उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने इच्छा पूरा नभएको बताए । गत जुलाई ८ मा चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेर आबेको हत्या गरेका थिए । आबे माग र मूल्य बढाएर घरेलु अर्थतन्त्रलाई प्रबर्द्धन गर्ने अर्थनीतिमा सफल भएका थिए । त्यस्तै दोस्रो विश्वयुद्धपछि जापानले गुमाएको सैन्य विरासत फिर्ता गराउन रणनीतिक गठबन्धन र परमाणु हतियारको पक्षमा वकालत गर्दै उनले आक्रामक राष्ट्रवादी नेताको छवि बनाएका थिए ।

उनको दाबी भने गलत रहेको छ । दुई पटक जापानका प्रधानमन्त्री भएका आबे नेपाल भ्रमणमा भने आएका छैनन् । नेपालस्थित जापानी दूतावासका अनुसार अहिलेसम्म जापानबाट एक पटक बहालवाला प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन् । सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आएका थिए । आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल भ्रमणमा नआएको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले पुष्टि गरे । आबे २६ सेप्टेम्बर २००६- २६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२- १६ सेप्टेम्बर २०२० गरी दुई कार्यकाल प्रधानमन्त्री भएका थिए । पूर्वपरराष्ट्र सचिव भट्टराईका अनुसार आबेका हजुरबुवा नोबुसुके किसी भने पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमणमा आएका थिए । उनी सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री भएका थिए । सन् १९८७ मा उनको निधन भएको थियो ।

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबाट उच्चस्तरीय भ्रमण हुने गरेका छन् । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापान भ्रमण गरेका थिए । त्यतिबेला जापानमा केइजो ओबुची प्रधानमन्त्री थिए । त्यसको दुई वर्षपछि जापानी प्रधानमन्त्री मोरी नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमण नै जापानी प्रधानमन्त्रीको पहिलो औपचारिक नेपाल भ्रमण थियो । त्यसपछि जापानका विदेशमन्त्रीहरू कोइचिरो गेम्बा र तारो कोनो नेपाल भ्रमणमा आएका थिए ।

नेपालका तर्फबाट भने तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सन् २०१८ मा ५ दिने औपचारिक भ्रमणमा जापान गएका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी सम्राट नारुहितोको गद्दी आरोहणका क्रममा सन् २०१९ मा जापान भ्रमणमा गएकी थिइन् । त्यतिबेला उनलाई तत्कालीन प्रधानमन्त्री आबेले समेत भेटेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु