पशुपति धर्मशालामा सरकारले ताला लगायो

२०७८, २५ चैत्र शुक्रबार १५:५७

काठमाडौं: पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको हो ।

करिब २ घण्टाको घम्साघम्सीपछि पनि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ । कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ ।

सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिएका थिए भने होटलमा पाहुना भित्र थुनिएका छन् ।

बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका छन् । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको थियो । त्यसैले कोषले धर्मशाला खाली गराउनप्रयत्न गरेपनि बतास समूहले मानेको छैन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु