जनतालाई आतंकित पार्ने काम अन्त्य गरौं- अर्थमन्त्री

२०७८, २५ चैत्र शुक्रबार १५:४१

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना हुन नसक्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलंका बनाउने रहर समेत रहेको जिकिर गरे । उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलंका बनाउने । तिनको सपना पूरा हुँदैन । तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम एक थरीहरुले गरिरहेका छन् ।’

उनले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए । मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ छ । उनले भने ‘अर्थतन्त्रमा समस्या छन्, हामीले पनि भनिरहेका छौं । श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्नेहरुलाई म अपिल गर्न चाहन्छु कि यस्तो प्रचारको अन्त्य गरौं, हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु केके हुन् त्यसमा बहस गरौं ।’
शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धका कारण थप समस्या आएको बताए । उनले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गरे । अत्याधिक पेट्रोलियम पदार्थको आयात, अनाश्यक विलासिताका वस्तु आयात, चाहिने भन्दा बढी गाडी आयात भएकाले अर्थतन्त्रमा समस्या आएको उनको भनाइ छ ।

अहिलेको डलर सञ्चिति साढे ६ महिनालाई पुग्ने रहेकाले यो भन्दा तल नझरोस् भनेर सतर्क हुनुपर्ने अवस्था रहेको उनले बताए । उनले भने ‘हाम्रा आलुहरु दूरदराजमा त्यतिकै फालिएका छन् । तिनलाई बजारमा पुर्‍याउने सोच बनाएनौं । त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौं । आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौं । हाम्रो प्याजलाई राख्ने स्टोर बनाउन सकेनौं । दुई महिनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौं । हाम्रा नीतिमा कतै कमजोरी भयो ।’ राष्ट्र बैंक अर्थमन्त्रालयको सल्लाहकार रहेको बताउादै उनले आफूले नबुझेको कुरा पनि राष्ट्र बैंकसँग सोध्ने गरेको बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु