अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश

२०७८, २४ फाल्गुन मंगलवार ०८:०६

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तिकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी हुन् ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

उनले नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा प्राप्त उपलब्धी विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएका सन्देशमा उल्लेख गरेकी छन् ।

‘महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्यासमा ल्याएका छौँ । फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ । पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ । यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ,’ राष्ट्रपतिले सन्देशमा भनेकी छन् ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको तथा त्यसको अभिप्राय महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने आफूलाई लागेको उनले सन्देशमा उल्लेख गरेकी छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु