चलचित्र विकास बोर्ड नेतृत्वमा कसको पल्ला भारी ?

२०७९, २ श्रावण सोमबार १४:४३

काठमाडौँ: सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा अध्यक्षका लागि निवेदन दिएका आकांक्षीको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले आज सूचना प्रकाशित गर्दै अध्यक्ष पदका आकांक्षी १० जनाको नाम सार्वजनिक गरेको छ । सूचनामा उनीहरूको निवेदन स्वीकृत गरेको व्यवहोरा उल्लेख छ ।

सार्वजनिक सूचीमा अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मल राज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की रहेका छन् ।

गत जेठ २१ मा अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएसँगै रिक्त पदमा मन्त्रालयले आवेदन माग गरेको थियो । असार ५ मा सार्वजनिक सूचनाअनुसार १० जनाले अध्यक्ष पदको दाबेदारीसहित निवेदन दिएका हुन् । मन्त्रालयले बोर्डको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्तापछि उत्कृष्ट तीनको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ र मन्त्री स्तरीय निर्णयबाट दुई वर्षे कार्यकालका लागि अध्यक्ष सिफारिस गर्नेछ ।

मन्त्रालयले प्रक्रिया पूरा गरे पनि अध्यक्षका लागि राजनीतिक आशीवार्द निर्णायक रहँदै आएको छ । अहिले सञ्चारमन्त्रालय कांग्रेसको भागमा रहेकाले कांग्रेस पार्टी निकट आकांक्षीले भेटघाट तीव्र बनाएका छन् ।

बजारमा चलेको चर्चाअनुसार भुवन केसी, नरेश पौडेल, अरुण प्रधान र सम्झना उप्रेती रौनियार यो दौडमा अगाडि छन् । चारैजना आकांक्षीले बालुवाटारमा शेरबहादुर देउवालाई भेटेर आफूलाई अध्यक्ष बनाउन दबाब दिएका छन् । बाँकी आकांक्षीले पनि आफ्नोतर्फबाट सक्दो लबिङ गरिरहेका छन् । सूचीमा रहेकामध्ये दीपक श्रेष्ठ माओवादी निकट हुन् भने सुशीलकुमार पोखरेल एमाले निकट रहेको चर्चा छ । सुचित्रा श्रेष्ठ र सुष्मा कार्की भने कांग्रेस निकट नै हुन् ।

मन्त्रालयले चाँडै नै प्रस्तुतिकरण र अन्तर्वार्ताको मिति तय गरिने जानकारी गराएको छ । स्रोतका अनुसार सञ्चार मन्त्रालयले यो मातहत रहेका अरु पनि संस्थामा नयाँ नियुक्ति गर्ने तयारी गरिरहेकाले सबै नाम एकैपटक मन्त्रिपरिषद्मा लैजाने तयारी स्वरुप विकास बोर्डको काम पनि ढिला भइरहेको छ । साउनको दोस्रो हप्तासम्ममा बोर्डमा नयाँ अध्यक्ष सिफारिस हुनसक्ने धेरैको आँकलन छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु