प्रतियोगिताकै पहिलो ह्याट्रिक

२०७९, २८ असार मंगलवार ०७:२१

काठमाडौंः खेलाडीबीचको आपसी कलहको आरोपलाई खण्डन गर्दै फ्रान्सले महिला युरो २०२२ मा इटालीलाई आइतबार ५–१ ले पराजित गरेको छ । फ्रान्सले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो । त्यसमा ग्रेस गेयोरोले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरिन् । मारिया एन्टोनेट र डेल्फिन कासकारिनोले पनि गोल गरे ।

फ्रान्सेली प्रशिक्षक क्यारिने डिक्रेले अनुभवी दुई खेलाडी अमादिना हेनरी र इगुने ले सोमरलाई टिममा नराखेर प्रतियोगिताका लागि टिम घोषणा गरेपछि विवाद सुरु भएको थियो । तर इटालीविरुद्ध फ्रान्सेली टिम निकै बलियो देखियो । यसले डिक्रेमाथि लागेको आरोप कमजोर भएको छ । जितपछि उनले भनिन्, ‘पहिलो खेलमा यस्तो जित निकै महत्त्वपूर्ण हुन्छ ।’ इटालीले फर्काएको एक गोल पनि आत्मघाती रह्यो । फ्रान्सेली गोलरक्षक लाउरा गुलियानीले नियन्त्रण लिन नसकेको बल पोस्टमा गएको थियो । हारका बावजुत समूह ‘डी’ बाट इटाली पनि नकआउट चरण पुग्ने विश्वास गरिएको छ । समूहको अर्को खेलमा बेल्जियम र आइसल्यान्डले म्यानचेस्टरमा १–१ को बराबरी खेले ।

Comments

ताजा खबर