गठबन्धनको चुनावी तयारी, चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र

२०७८, २४ चैत्र बिहीबार ०६:०४

काठमाडौं: सत्तारूढ पाँच दलीय गठबन्धनको स्थानीय तह चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेलका लागि स्थानीय तहमा पार्टीगत अवस्थाबारे चैत २६ गतेभित्र साझा प्रतिवेदन बुझाउन तल्लो तहका चुनावी तालमेल संयन्त्रलाई निर्देशन दिएको छ । समितिका संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेलका लागि स्थानीय तहको अवस्थाबारे २६ गतेभित्र रिपोर्ट बुझाउन प्रदेश, जिल्ला र स्थानीय तहका चुनावी तालमेल संयन्त्रलाई निर्देशन दिएको हो ।

समितिका संयोजक रामचन्द्र पौडेलले प्रदेशस्तरको गठबन्धन समन्वय समितिले चैत २२ भित्र बुझाउनुपर्ने प्रतिवेदन बुझाउन चैत २६ सम्मको थप समय उपलब्ध गराइएको जानकारी दिँदै भन्नुभयो, ‘चैत २२ गतेभित्र साझा प्रतिवेदन बुझाउन भनेका थियौँ । के कति कारणले त्यसमा ढिलाइ भएको छ । अब चैत २६ भित्र प्रदेशभित्रका स्थानीय तहमा गठबन्धनको अवस्थाबारे यथार्थ रिपोर्ट पठाउन निर्देशन दिने निर्णय भएको छ ।’ प्रदेशगत प्रतिवेदन आएपछि मात्रै महानगरपालिकाको नेतृत्वलगायत विषयमा छलफल हुने संयोजक पौडेलले जानकारी दिनुभयो ।

समितिका सदस्य एवं माओवादी केन्द्रका नेता देव गुरुङले भन्नुभयो, ‘तल्लो तहमा विभिन्न संयन्त्र बनेका छन् । बैठक बसेर त्यहाँको स्थितिका बारेमा रिपोर्ट कलेक्सन गरेर २६ गतेभित्र पठाउने भन्ने कुरा भएको छ ।’ बैठकका निर्णयबारे जानकारी दिँदै समिति सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भन्नुभयो, ‘आज ठोस छलफल भएन । हामीले चैत २२ गतेसम्म गठबन्धन दलको संयन्त्र बैठक बसेर रिपोर्ट पठाऊ भनेका थियौँ । तर, कहीँ बैठक सकिएको छ, कहीँ बैठक बसेको छैन । अब सबैलाई भनेर २६ गतेभित्र उनीहरूलाई रामचन्द्र दाइको संयन्त्रलाई बुझाउने गरी रिपोर्ट पठाउन निर्देशन दिएका छौँ ।’ जिल्ला, प्रदेश र पालिकामा बनेको गठबन्धनको संयन्त्रबाट रिपोर्ट आइसकेपछि थप छलफल हुने महामन्त्री थापाले जानकारी दिनुभयो ।

बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको जानकारी दिँदै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भन्नुभयो, ‘हामी छलफलमै छौँ । विभिन्न जिल्लाहरूको स्थितिबारे बुझिरहेका छौँ । तलबाट रिपोर्ट आएपछि ठोस रूपमा छलफल अगाडि बढ्छ । सबै ठाउँमा पाँच दलीय पार्टीका प्रमुख रहेको संयन्त्र बनेको छ । उनीहरू बैठक बसेर छलफल गरिरहेका छन् । केही ठाउँबाट छलफलको रिपोर्ट आएको छ । कतिपय ठाउँबाट आउँदैछ ।’

समितिको पहिलो बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धनबाट उम्मेदवार छनोटको साझा मापदण्ड बनाउने पनि निर्णय गरेको छ । उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा उम्मेदवार चयनका लागि न्यूनतम साझा मापदण्ड बनाउने निर्णय गरेको समितिले मापदण्डको टुंगो लगाएको छैन । तल्लो तहका संयन्त्रबाट प्रतिवेदन आएपछि उम्मेदवारको न्यूनतम् मापदण्ड तय गर्ने समितिको तयारी छ ।

यसअघि गत बिहीबार बसेको सत्तारूढ गठबन्धनको बैठकले स्थानीय तहहरूमा गठबन्धनको अवस्था, चुनावी तालमेलको आधार लगायतका विविधि विषयमा अध्ययन गरी चैत २२ गतेसम्म साझा प्रतिवेदन बुझाउन प्रदेश, जिल्ला र स्थानीय तहमा संयुक्त संयन्त्र बनाउने निर्णय गरेको थियो । स्थानीय चुनावी तालमेल संयन्त्रहरूले स्थानीय तहको वस्तुस्थिति सहितको प्रतिवेदन बुझाएपछि समितिको अर्को बैठक चैत २७ गते बस्ने तय गरिएको छ ।

चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको प्रचण्डको आरोप

सत्तारूढ गठबन्धनबीच चुनावी तालमेलको मोडालिटीका विषयमा छलफल भइरहेको बेला गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ । बुधबार चितवनमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशभित्रका र बाहिरका केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको आरोप भन्नुभयो, ‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा प्रचण्डलाई कसरी हराउने भन्नेमा छ ।’

माओवादीलाई कमजोर पारे मात्र परिवर्तनका एजेण्डा कमजोर हुने भन्दै केही शक्ति माओवादीविरुद्ध लागेको अध्यक्ष दाहालको जिकिर छ । चितवनमा माओवादीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा राम्रो काम गरेको दाबी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘चितवनमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, नदी तटबन्धदेखि तमाम विकासका कामलाई अग्रगति दिने काम गर्दा पनि प्रतिक्रियावादीले किन षड्यन्त्र गरिरहेका छन् ? चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’

आवश्यकता र परिस्थिति हेरेर मात्र चुनावी तालमेल हुन्छ : डा.कोइराला

सुरुदेखि नै गठबन्धनबीच चुनावी तालमेलको विपक्षमा रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले परिस्थिति, आवश्यकता र औचित्यका आधारमा मात्र स्थानीय तहमा चुनावी तालमेल हुने दाबी गर्नुभएको छ । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले सत्तारूढ दलहरूसँग आगामी निर्वाचनमा गठबन्धन गर्ने भन्ने शब्द कतै प्रयोग नभएको बताउनुभयो ।

स्थानीय पार्टी नेता तथा कार्यकर्ताको भावना विपरीत केन्द्रबाट तालमेल लाद्ने कुरा स्वीकार्य नहुने जिकिर गर्दै नेता कोइरालाले भन्नुभयो, ‘घर घर जाउँ माओवादीलाई जिताऊँ होइन कांग्रेसलाई जिताऊँ भन्ने अभियान हो । कांग्रेसकोे केन्द्रले गरेको निर्णय हो । औचित्य र आवश्यकताअनुसार क्षेत्र अनि जिल्लाले तल चुनावी तालमेलको विषयको निर्णय गर्ने हो । तर, सरकारमा भएका दलहरूसँग गठबन्धन गर्ने भन्ने कतै उल्लेख गरिएको छैन ।’

केन्द्रीय निर्वाचन परिचालन र अनुगमन समिति गठनको सम्बन्धनमा नेता कोइरालाले भन्नुभयो, ‘निर्वाचन परिचालन कमिटी गठन गरेको हो तर उम्मेदवार को बन्ने भन्ने केन्द्रले गर्दा त्यसले तलसम्म कांग्रेसलाई घाटा हुन्छ । त्यो भए सत्तासीन दल र कांग्रेस दुवैलाई घाटा हुन्छ ।’

सभापतिले चाहेको भए जे पनि गर्न सक्ने भए पनि स्थानीय तहको विषयमा क्षेत्र र जिल्लालाई निर्णय गर्ने अधिकार दिने मध्यमार्गी बाटो अपनाउनु सकारात्मक भएको भन्दै डा. कोइरालाले अगाडि भन्नुभयो, ‘कांग्रेसको केन्द्रीय समितिले के निर्णय गरेको छ भन्ने नै महत्वपूर्ण हो । देशैभरि गठबन्धन गरेर जाने भनेको छैन । आवश्यक परे तल तालमेल गरेर जाने भनिएको हो ।’ तत्काल उम्मेदवारको नामावली सार्वजनिक नगर्न कांग्रेसले जारी गरेको सर्कुलरबारे आफूलाई जानकारी नभएको डा. कोइरालाको दाबी छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु