सीपी मैनालीले झापा क्षेत्र नं २ बाट उम्मेदवारी को तयारि

२०७९, २० आश्विन बिहीबार १९:१२

झापा,  एमाले अध्यक्ष केपी ओलीको साथ लिएर नेकपा मालेका महासचिव सीपी मैनालीले झापा क्षेत्र नं २ बाट उम्मेदवारी दिने भएका छन् ।

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा मालेका तर्फबाट उनले क्षेत्र नं २ मा उम्मेदवारी दिन लागेको बताएका छन् ।एमालेसंग सहकार्य गर्ने विषयमा एक–दुई पटक अध्यक्ष ओलीसंग वार्ता भइसकेको बताउँदै उनले आज भोलि फाइनल वार्ता हुने जनाएका छन् ।

राजधानीको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै मैनालीले एमालेसंग चुनावी सहकार्य हुने कुरामा आफू आशावादी रहेको बताए । एमालेसंगको सहकार्यमा झापा क्षेत्र नं २ , काठमाडौं १ लगायतका क्षेत्रमा मालेले उम्मेदवारी दिन लागेको उनको भनाई छ । करिव एक महिनाअघि पनि झापा क्षेत्र नं २ मा ओलीले मैनालीलाई उठाउने चर्चा चलेको थियो । तर, त्यो कुरा त्यतिकै सेलायो । असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको मिति रहेको छ ।

मनोनयनको संघारमा मैनालीको उम्मेदवारीले फेरि चर्चा पाएको छ । झापा क्षेत्र नं २ मा टिकटका लागि एमालेभित्र मारामार चलिरहेका बेला मालेका ७१ वर्षिय मैनालीले ओलीको आशीर्वाद खोजेका हुन् । एमालेभित्रै पुराना नेताहरुलाई आराम गर्न लगाएर नयाँ अनुहारलाई टिकट दिनुपर्ने आवाज उठिरहेका बेला अर्को पार्टीका पुराना नेतालाई टिकट दिने कुरा असम्भव जस्तै भएको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए ।

एमालेका तर्फबाट झापा क्षेत्र नं २ मा चार जना सिफारिस भएकोमा देवराज घिमिरेले टिकट पाउने प्रवल संभावना रहेको छ । सो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादीकी धर्मशीला चापागाईले उम्मेदवारी दिने भएकी छन् ।

२०३५ सालमा नेकपा मालेको स्थापना भएको थियो । त्यसबेला मैनाली नै महासचिव भएका थिए । २०४७ सालमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र नेकपा मालेको एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बनेको थियो ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु