एमालेले अर्थमन्त्री शर्माले संसद्‌को रोस्ट्रमबाट बोल्न खोजे अवरुद्ध गर्ने

२०७९, २२ असार बुधबार १२:५२

काठमाडौँ: प्रतिनिधिसभाको ११ बजेका लागि बोलाइएको बैठक साढे १२ बज्दासम्म पनि बस्न सकेको छैन । अर्थमन्त्री जनार्दन शर्मासम्बन्धी विवादले गर्दा संसद् बैठक अवरुद्ध हुने भएकाले बस्न नसकेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले संसद्‌को रोस्ट्रमबाट बोल्न खोजे अवरुद्ध गर्ने जानकारी सभामुख अग्निप्रसाद सापकोटालाई दिइसकेको छ । संसद्‌मा अर्थमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन र नियमित झैं चलाउनका लागि मन्त्रीहरू एमाले संसदीय दलका पदाधिकारीसँग छलफल गरिरहेका छन् ।
संघीय संसद्, बानेश्वरमा रहेका एक अधिकारीका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतसँग छलफल गरिरहेका छन् ।

सभामुख सापकोटाले भने गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङसँग छलफल गरिरहेका छन् ।

बजेट निर्माणका क्रममा मन्त्री शर्माले अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको आरोप छ । एमालेले त्यसको छानबिन माग गरिरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु