बाल सुधार गृह रुपन्देहीका १७ किशोरलाई लामो प्रयासपछि स्थानान्तरण

२०७९, ८ असार बुधबार ०५:२२

भैरहवा: बाल सुधार गृह रुपन्देहीका १७ किशोरलाई लामो प्रयासपछि स्थानान्तरण गरिएको छ । कारागार विभागले सुधार गृहमा अत्याधिक चाप भएको भन्दै केहीलाई स्थानान्तरण गर्न खोजे पछि मंगलबार केही बेर अवस्था तनावग्रस्त भयो ।

दिउँसो करिब २ बजेबाट तनाव सुरू भएको सुधार गृहमा प्रहरीले संयमता अपनाउँदै करिब ७ बजे स्थिति सामान्य बनाएको थियो । त्यहाँ रहेका किशोरहरूले अनेक गतिविधि गर्न थालेपछि ठूलो संख्यामा प्रहरी पुगेको थियो तर प्रहरीमाथि नै उनीहरूले आक्रमण गरेपछि तनाव भएको थियो ।

कारागार विभागले बालकहरूलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । स्थानान्तरण गर्ने पत्र आएको खबर उनीहरूले थाहा पाएदेखि नै भित्र दैनिक रुपमा होहल्ला गर्ने, तोडफोड गर्ने जस्ता अनेक क्रियाकलाप गर्दै आएका थिए ।

वैशाख ४ गते पनि तोडफोड गरेर भित्र रहेका टिभी, पंखा लगायतका सामान तोडफोड गरेका थिए । मंगलबार दिउँसो करिब २ बजे सुधार गृहबाट केही किशोरहरूलाई अन्यत्र स्थानान्तरण गर्न खोज्दा उनीहरूले प्रहरीमाथि आक्रमण गरेको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।

उनीहरूको आक्रमणबाट रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भई उपचारमा छन् । डिएसपीको टाउको र अंग रक्षकको हातमा चोट लागेको छ ।

‘बढी चाप भएको कारणले घर पायक र यहाँ अवाञ्छनीय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौ, ठूलाहरूले साना किशोरमाथि दमन गर्दै पनि आएका थिए,’ बाल सुधार गृह प्रमुख गौतमले भनिन् । उनीहरू मध्ये १० जना नेपालगंज, ४ जना कास्की र ३ जनालाई भक्तपुर स्थानान्तरण गरिएको हो ।

आज पठाउन लागिएको बेला जान्‍न भन्दै किशोरहरू आक्रोशित भई भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएका सामानहरूले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए । उनीहरूले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएका थिए ।

किशोरहरू आक्रोशित भएपछि सुरक्षाकर्मीले अन्य कुनै घटना नहोस् भनेर संयमता अप्‍नाउँदै परामर्श गरेर स्थिती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए । ‘नेपाल प्रहरी, सशस्त्र प्रहरीको लामो प्रयासपछि अवस्था नियन्त्रणमा आयो, सुधार गृहबाट उनीहरूलाई निकालेर सम्बन्धित जिल्ला पठाउनका लागि व्यवस्थापन गरिरहेका छौं,’ प्रहरी प्रमुख रेग्मीले भने । उनीहरू बुधबार स्थानान्तरित सुधार गृहमा पुग्‍ने छन् ।

किशोरहरू उग्र भएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही थान अश्रु ग्यासको समेत प्रयोग गरेको स्थानीयले बताएका छन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा विभिन्‍न जिल्लाका ११० जना बालक तथा किशोरहरू बस्दै आएका थिए । बालबिज्याईले स्थानीय आजित भएपछि मंगलबार मात्रै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा सुधार गृह स्थानान्तरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु