तनावको कारणले डार्क सर्कल, प्रशस्त पानी पिउनुपर्छ

२०७९, ४ असार शनिबार ०८:४२

काठमाडौं: आँखाको वरपर आउने ‘डार्क सर्कल’ले गर्दा अनुहार बूढो र थाकेको जस्तो देखिन्छ । जसको कारण धेरैका लागि डार्क सर्कल चिन्ताको विषय बन्‍ने गर्छ । डार्क सर्कल विभिन्‍न कारणले आउँछ । तीमध्ये केही प्रमुख कारणबारे चर्चा गरौँ :

आँखाको छाला पातलो भएर वा रगतको नसा फुलेर
आँखामुनिको छालालाई शरीरको सबैभन्दा पातलो छाला मानिन्छ । यस्तो छालामा रगतका नसाहरू निलो देखिन्छ । केही कारणले रगतका नसाहरू फुले भने आँखामा डार्क सर्कल देखिन्छ । निद्रा पुगेन, थकान भयो वा बढी तनाव भयो भने त्यो बेला शरीरले स्ट्रेस हर्मोन रिलिज गर्छ । हर्मोनले रगतको नसा फुलाइदिन सक्छ । जसले गर्दा पनि डार्क सर्कल देखिन्छ । त्यस्तै कसैको आँखा कमजोर छ भने चस्मा लगाउनु जरुरी हुन्छ । किनभने, यदि आँखामा स्ट्रेस पर्‍यो भने पनि नसाहरू फुल्न सक्छ । साथै टेलिभिजन, ल्यापटप, मोबाइल धेरै हेर्ने वा चलाउने गर्दा पनि त्यसबाट निस्किएको विकिरणले आँखामा स्ट्रेस पर्न जान्छ र डार्क सर्कल देखिन्छ ।

मुखमा लगाउने जुन पायो त्यही क्रिम वा बजारमा पाइने अन्डर आइ क्रिमको प्रयोग आँखामुनिको छालामा लगाउँदा पनि डार्क सर्कल बस्छ । त्यसमा भएका केमिकल्सले इरिटेसन गराएर आँखाको नसा फुल्छ र डार्क सर्कल बढ्दै जान्छ । त्यस्तै, आँखा धेरै मिच्‍ने बानीले पनि यो समस्या निम्त्याउँछ । फेसवास गर्दा वा मुख धुँदा कालो जाला भनेर आँखा धेरै मिच्यो भने त्यहाँभित्रको नसा फुटेर डार्क सर्कल बन्छ ।

आँखामुनिको छाला कालो भएर
कसै–कसैको आँखामुनिको छाला अनुहारको अन्य भागभन्दा कालो हुन्छ । यसको प्रमुख कारण वंशाणुगत नै हो । कतिपय अवस्थामा भने घामको असर पनि हुन सक्छ । घाममा भएका विकिरणले छालालाई कालो बनाइदिन्छ । छालालाई लुज र चाउरी पारिदिन्छ । डार्क सर्कलबाट बच्‍न सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सन स्क्रिनका साथसाथै घाममा बाहिर निस्किँदा सन ग्लास पनि लगाउनु पर्छ । सन ग्लासले हामीलाई घामबाट बचाउनुको साथै आँखालाई चम्किलो प्रकाशबाट बचाएर आँखामा स्ट्रेस कम गर्छ ।

आँखाको तलको भाग सुन्‍निएर
यदि कसैको आँखा फुलेको वा सुन्‍निएको छ भने त्यसले आँखाको तल्लो भागमा छाया पार्छ । जसलाई ‘स्याडो इफेक्ट’ पनि भनिन्छ । कसैको निद्रा नपुगेर वा धेरै सुतेर आँखा सुन्‍निएको हुन्छ । यसरी सुन्‍निँदा आँखाको तलपट्टिको छालामा छाया पर्छ र डार्क सर्कल देखिन्छ । कसैको भने पहिलादेखि नै आँखाको तल्लो भागको मासु मोटो हुन्छ । जसले गर्दा ‘स्याडो इफेक्ट’ देखिन सक्छ ।

आँखामुनिको टिस्यूहरू ड्यामेज भएर
आँखा तल्लो र नाकको बीचको भागलाई ‘टियर ट्रफ एरिया’ भनिन्छ । जब बुढेसकाल लाग्दै जान्छ तब त्यहाँको तल्लो भागको टिस्यू ड्यामेज हुन सक्छ । जसले गर्दा छाला पातलो र खुकुलो हुन्छ र डार्क सर्कल बन्‍ने गर्छ । त्यस्तै, घामको विकिरणले टिस्यू ड्यामेज गराएर डार्क सर्कल देखिएको हुन सक्छ । कसै–कसैको आँखा पहिलादेखि नै भित्र गडेको हुन्छ । गडेको आँखामा पनि स्याडो इफेक्टले डार्क सर्कल देखिन सक्छ । शरीरमा पानीको मात्रा कम हुँदा पनि छाला सुख्खा हुने चाउरी पर्ने हुन्छ । त्यसको असर आँखामा पर्छ । जसले गर्दा डार्क सर्कल देखिन्छ ।

समाधान के ?
डार्क सर्कलको उपचार कारणअनुसार फरक–फरक हुन्छ । यसको उपचार गर्दा छाला रोग विशेषज्ञको सल्लाह लिएर मात्र उपचार गर्नुपर्छ । निद्रा, थकान वा तनावको कारणले डार्क सर्कल बसेको हो भने त्यहीअनुसार विचार पुर्‍याउनु पर्छ । टेलिभिजन, ल्यापटप र मोबाइलमा धेरै समय बिताउनु हुँदैन । आँखामुनिको छालालाई राम्ररी म्वस्चराइज गर्नुपर्छ । घाममा निस्किँदा सन स्क्रिन र सन ग्लास लगाउनुपर्छ । आँखा मिच्‍ने बानी गर्नु हुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।

Comments

ताजा खबर