प्रधानमन्त्रीको देउवाको भूमिका सन्तोषजनक नै छः शशांक कोइराला

२०७९, ३० जेष्ठ सोमबार २१:३१

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन्।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको पनि स्पष्ट पारे। सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रियासमेत दिए।

पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पदअनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ थियो। उनले भने, ‘हरेक निर्णय गर्दा हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजीले सबैसँग सल्लाह गर्नुहुन्छ। सर्वदलीय बैठकमा मुख्य–मुख्य मान्छेहरु गएर निर्णय गरिन्छ। तर धेरैजसो निर्णयहरु ठीकै भएको छ। यसमा हाम्रो कुनै विरोध छैन। पदाधिकारीहरु सबैले आ–आफ्नो भूमिका पाइरहेका छन्।’ नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण आयोग आफू मातहत राख्ने/नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गरे।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले ती दुवै निकाय आफ्नो मातहतमा ल्याएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको थियो नि? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले त्यो अधिकार प्रधानमन्त्रीको भएकाले त्यसमा विरोध गरिरहन आवश्यक नभएको जवाफ दिए।
Comments

ताजा खबर