साथी आफैँले स्कुल जाऔँ भन्दै म्यासेज पठाइन्, बाटोमा दाइसँग मिलेर हत्या गरिन्’

२०७८, २३ चैत्र बुधबार १६:१७

काठमाडौं: ‘कोचिङ’ कक्षाका लागि मंगलबार बिहान घरबाट हिँडेकी उदयपुरको कोसी जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्यामा उनकै किशोरी साथी र साथीको दाइको संग्लनता देखिएको छ ।
प्रहरीले हत्या आरोपमा कवितासँगै पढ्दै आएकी ढकाल थरकी १५ वर्षीया छात्रा र उनका दाइ नाता पर्ने १९ वर्षीय विनोद ढकाललाई पक्राउ गरेको छ । कविताको मोबाइल पनि उनकै साथीको घरमा भेटिएको छ ।
मंगलबार बिहान करिब साढे ६ बजेको समयमा कविता यशोदा खोलामा मृत भेटिएकी थिइन् । बिहान साढे ६ बजेको आसपासमा उनलाई भैँसी चराउन जानेहरूले देखेका थिए ।

बेलका नगरपालिका–३ की छात्रा कविता कक्षा–१० मा अध्ययनरत थिइन् । विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार शरीरमा छाला रोगको समस्या देखिएपछि उनी केही दिनयता बिहानको कोचिङ कक्षामा अनुपस्थित रहँदै आएकी थिइन् । विद्यालयमा प्रत्येक दिन बिहान सवा ६ बजेदेखि अंग्रेजी, गणित र विज्ञान विषयको पढाइ हुँदै आएको थियो ।
केही दिन कोचिङ कक्षा नआएकी कविता साथीसँग हिजो स्कुल जाने भन्दै निस्किएकी थिइन् । कविताको घर विद्यालयभन्दा तीन किलोमिटरको दूरीमा छ । उनी प्रायःजसो पैदल हिँडेरै विद्यालय पुग्ने गरेकी थिइन् ।
तर, मंगलबार कविता आफ्नै साथीको योजनामा मारिइन् । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “कवितलाई उनकी साथीले बिहान साढे ४ बजेतिर आज कोचिङ जानुपर्छ भनेर फेसबुकमा म्यासेज गरेकी रहिछिन् । उनले हुन्छ भनेपछि साथीसँगै हिँडेर स्कुलतर्फ अगाडि बढिन् । साथीसँग उनको दाइ पनि रहेछन् । उनका दाइले बियरको बोतल लुकाएर लगेका रहेछन् । केही पर पुगेपछि कविताको टाउकोमा बियरको बोतलले हिर्काएका रहेछन् ।”
कवितालाई लिन उनकी साथी घरनजिकै आएकी थिइन् । बियरको बोतलले हिर्काएपछि कविता जमिनमा लडेको र सो अवस्थामा उनीहरूले टाउकोमा ढुंगा प्रहार गरेको देखिएको छ ।
कवितामाथि आक्रमण गरिसकेपछि उनीहरूले घिसारेर खोलासम्म लगेको र फेरि टाउकोमा ढुंगा बजारेको उनीहरूले बताएको अनुसन्धानमा संलग्न एक अधिकारीको भनाइ छ ।
उनका अनुसार पक्राउ परेका दुवैजनाले हत्यामा आफ्नो संलग्नता स्वीकार समेत गरिसकेका छन् । कविताको मोबाइल साथीको घरबाट बरामद हुनुले घटना पुष्टि भएको प्रहरी भनाइ छ । यसबाहेक प्रहरीले बियरको बोतलका टुक्रा समेत बरामद गरेको छ ।
कवितामाथि आक्रमण गर्दा विनोदको शरीरमा समेत चोट लागेको प्रहरीले जनाएको छ । आफूलाई हेप्ने गरेका कारण कवितामाथि आक्रमणको योजना बनाएको उनकी साथीले बताएकी छन् ।
अनुसन्धानका क्रममा केही समयअघि मनमुटाव भएर कविता र उनकी साथीबीच बोलचाल पनि बन्द भएको थियो । त्यसपछि कविताकी साथी फेरि बोल्न सुरु गरेकी थिइन् । निम्नवर्गीय परिवारकी कविताका बुवा सामान्य मजदुरीको काम गर्दै आएका छन् ।
पक्राउ परेकाहरूमाथि प्रहरीले आज म्याद थपको तयारी गरेको छ । प्रहरीले घटनाबारे प्राविधिक पाटोको समेत अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु