काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले ४०% हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले फागुन १ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, बुक क्लोज मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यस इन्सुरेन्सले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । आइएमईले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०% हकप्रद बिक्री गर्ने तयारी गरेको हो । यो हकप्रद बिक्रीपछि भने पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।