काठमाडौं महानगरको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित

२०७९, १३ जेष्ठ शुक्रबार १०:४९

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

को हुन् बालेन्द्र साह (बालेन) ? 

३१ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी र्‍यापरका रूपमा पनि चर्चित छन् ।

काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।

नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्‍यापर तथा कवि–लेखक साहको जितलाई कमैले आकलन गरेका थिए । तर पुराना राजनीतिक दलहरुलाई चुनौती दिंदै उनी काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका छन् ।

सुरुवातमा विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका थिए । पछि क्रमशः अन्य क्षेत्रका अगुवाहरु पनि उनको पक्षमा खुल्दै गए ।

मेयरका अर्का प्रतिस्पर्धी केशव स्थापितले उनलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिन थालेपछि साह झनै चर्चामा आए । उनले स्थापित आफ्नो ब्राण्ड एम्बेसडर भएको अभिव्यक्ति दिएका थिए ।

आफ्नो इञ्जिनियरिङ पृष्ठभूमिका कारण काठमाडौंको विकासका लागि आफू योग्य उम्मेदवार भएको उनको बुझाइ थियो । ‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ, थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु’ उनले भनेका थिए, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ, मैले निर्वाचित भएपछि गर्ने काम भनेको पनि तिनै विषयमा केन्द्रित हुनेछ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु