प्रसाईंद्वारा वडा कार्यालयलाई करोडको जग्गा निःशुल्क दिने घोषणा

२०७९, १२ जेष्ठ बिहीबार ०७:१२

बिर्तामोड । सामाजिक व्यक्तित्व तथा युवा व्यवसायी बिर्तामोड देवीबस्तीका विवेक प्रसाईंले वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् ।

बिर्तामोड वडा नम्बर ५ को वडा कार्यालयमा आयोजना गरिएको नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण कार्यक्रममा प्रसाईंले जग्गा दान गर्ने घोषणा गरेका हुन् ।
प्रसाईंले आफ्नी छोरी अपेक्षा प्रसाईंको नाममा रहेको एक कठ्ठा जग्गा वडा कार्यालयलाई पास गर्ने बताए ।

हाल सो जग्गाको बजार मूल्य एक करोड रुपैयाँ रहेको जनाइएको छ ।
कार्यक्रममा प्रसाईंले आफ्नै निजी भवन नहुँदा वडालाई कार्यसम्पादनमा कठिनाइ भइरहेको महसुस भएकाले आफूले जग्गा प्रदान गर्ने बताए । प्रसाईं राजनीतिज्ञ तथा चिन्तक सिके प्रसाईं र गिरिराजकुमारी प्रसाईंका छोरा हुन् ।

उनले आफ्नो वडा तथा नगरको विकासमा नागरिकको पनि दायित्व रहेकाले जग्गा दिइएको बताए । प्रसाईंले प्रदान गरेको जग्गा बिर्तामोड ५ स्थित धर्मकाँटारोडको उत्तर माता मन्दिर जाने बाटोमा पर्छ । कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष रोहित प्रसाईंलगायत वडा सदस्यहरुले आजैबाट पदभार ग्रहण गरेका थिए ।

उनीहरुलाई विभिन्न संघसंस्था, राजनीतिक दल तथा टोल विकास संस्थाहरुले शुभकामना दिएका थिए ।
यसैबीच, कार्यालय प्रवेश गर्नुअघि वडा अध्यक्ष प्रसाईंले अपांगता भएका दुईजनालाई ह्विल चियर प्रदान गरेका छन् । वडा कार्यालयले उनीहरुलाई एक–एक थान ह्विल चियर प्रदान गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु