भीषण हावाहुरीले ३ जनाको मृत्यु, नारायणी पुलका सबै विद्युत पोल भाँचिए

२०७९, ६ जेष्ठ शुक्रबार २२:२०

चितवनः चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएकाे पानीले तीन जनाको ज्यान लिएको छ ।हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।

भरतपुर महानगरपालिका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का प्रदीपकुमार लामा र अटोमा सवार परिचय नखुलेकी अन्दाजी ५०/५१ वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको हो ।

अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । यस्तै हावा हुरीको कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा बिशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको घिमिरले बताए ।

राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढलेको थियो । भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएकाे छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका सबै पोल भाँचिएका छन् ।

पोल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् । पाेलहरू ढल्दा रेलिङसमेत भाँचिएको छ । अकस्मात आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियाे ।

पुलमा रहेको बारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ। ट्रक लडेपछि केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध बनेको थियो । क्रेनको सहायताले ट्रकलाई उठाएपछि राजमार्ग खुलेको छ । हावाहुरीले भरतपुरमा रहेको सिनर्जी एफएम ९१.६ मेगाहर्जको टावर भाँचिएको छ । रेडियोको प्रशारण अहिले बन्द छ । भरतपुरका अधिकांश भागमा विद्युत लाइन छैन ।

साझा पेट्रोल पम्पको छाना खसेर गाडी थिचेको छ । भरतपुर अस्पतालको हाता भित्रको पार्किङमा रूख ढलेर स्कुटर र मोटरसाइकल च्यापेको छ । तोरीखेतमा रुख ढलेर घर भत्काएको प्रहरीले जनाएको छ । भरतपुर बाईपासमा डिभिजन सडक कार्यालय अगाडि रहेको वरको रुख लडेर तीन वटा फिडरको ११ के भी प्रसारणको तारमा पर्दा करिब ३०० मिटर तार सहितको पोल भाँचिएर बाटो र अवरुद्ध भएको छ । अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर