धमलालाई नेपाल काउन्सिलको २४ घण्टे स्पष्टीकरण

२०७८, २२ चैत्र मंगलवार २३:४४

काठमाडौँ: प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलाले विमानमा निषेधित क्षेत्रमा प्रवेश गरी दृश्य खिची प्रसारण गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । काउन्सिलले सुरक्षा संवेदनशीलता र वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलताका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेर दृश्यसहित प्रत्यक्ष प्रसारण के/कति कारणले गर्नुपरेको हो ? भनि प्रश्न सोधेको छ ।

त्यसैगरी धमलाबाट पटक-पटक यस्तो गैर पेसागत क्रियाकलाप किन हुन पुगेको हो भनेर प्रश्न सोधेको छ । काउन्सिलले पत्रकार क्षेत्रको मर्यादा/विश्वासनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य किन/कसरी हुन गएको हो ? प्रश्न सोधेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोलीमा सदस्य रहेका पत्रकार धमलाले प्राइम टिभीको २०७८ चैत २० गतेको जनता जानता चाहन्छन् कार्यक्रममा ‘काठमाडौं विमानास्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षकमा कार्यक्रम प्रसारण गरेका थिए । विमानका कर्मचारीहरुले धमलालाई ‘सुरक्षा प्रोटोकलविपरीत हो यस्तो नगरिदिनुहोस्,’ भन्ने आग्रह गर्दागर्दै पत्रकार धमलाले निषेधित गरिएको क्षेत्रमा प्रवेश गरी दृश्य रिकर्ड गरेका थिए । सो दृश्य प्रसार भएपछि सामाजिक सञ्जालमा धमलाको चर्को आलोचना भएको थियो । सञ्जाल प्रयोगकर्ताहरुले पत्रकारकारिताको आचारसंहिता अनुमगन गर्ने संस्थाहरुको ध्यान दिन आग्रह गरेका थिए । त्यसलगत्तै काउन्सिल र नेपाल पत्रकार महासंघले छुट्टाछुटै विज्ञप्ति निकालेका थिए ।

महासंघले हवाइ जबरजस्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘महासंघ पत्रकारहरु समाचार संकलनका लागि स्वतन्त्र हुनपर्छ र राज्यले त्यसका लागि सबैखाले व्यवस्था गर्नुपर्छ भन्ने धारणामा दृढ छ । त्यस्तो स्वतन्त्रताको भरपुर उपयोग गरेर नै नागरिकसम्म सूचना पुर्‍याउन सम्भव हुन्छ,’ महासंघले भनेको छ, ‘यस्तो स्वतन्त्रताको उपयोग गर्ने क्रममा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलताका सन्दर्भमा भने सञ्चारकर्मी स्वयम् सचेत र स्पष्ट हुनुपर्दछ ।’
त्यसैगरी सूचनाको स्रोतसँग मर्यादित व्यवहार गर्ने, स्वास्थ्य तथा सुरक्षा संवेदनशीलता प्रदर्शन गर्ने, प्राविधिक पक्षको विशेषरुपमा हेक्का राख्ने कुराहरुमा ख्याल राखिएन भने समाचार संकलनका क्रममा क्षति उत्पन्न हुने अवस्था आउनेतर्फ पत्रकार तथा सञ्चारकर्मी सधैं सचेत हुन आवश्यक रहेको जनाएको छ । ‘सूचना संकलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता भए तापनि यस्तो सूचना संकलन गर्दा पत्रकारिताको मर्यादालाई ख्याल गर्नु जरुरी छ,’ महासंघले भनेको छ ‘सूचना संकलनका नाममा सुरक्षा संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नु पत्रकारिताको मर्यादाविपरीत हुन्छ । त्यसैले त्यस्ता कुनै पनि संवेदनशील स्थानहरुमा प्रवेश गर्नुपूर्व लिनुपर्ने अनुमति र अपनाउनु पर्ने मापदण्डलाई पालना गर्न महासंघ सबैमा अपिल गर्दछ ।’

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहितको भ्रमण टोलीका सदस्यहरु चढेको विमानमा काठमाडौंमा अवतरण भैसकेपछि इकोनोमिक क्लासमा रहेका पत्रकार धमला प्रधानमन्त्री देउवा रहेको ठाउँमा बलपूर्वक प्रवेश गरेका थिए ।

यसैबीच, नेपाल वायुसेवा निगमले पत्रकार धमलाको व्यवहारको बारेमा ‘क्याबिन क्रु’ले लिखित तथा मौखिक कुनै पनि उजुरी नदिएको अपरेसन विभागका प्रमुख पाइलट रविन्द्रकुमार शेरचनले बताएका छन् । ‘जहाज काठमाडौंमा अवतरण भएपछि इकोनोमिक क्लास टिकट भएका पत्रकार धमलाले बिजेनस क्लास रहेका प्रधानमन्त्रीलाई खोजेको जानकारी आएको छ,’ शेरचनले भने, ‘प्रक्रियागतरुपमा कुनै सूचना नआए पनि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले यस विषयमा निमगसँग जानकारी माग गरेको छ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु