जितुवाले देश चलाउन पुग्ने, हामी नाङ्गाको नाङ्गै

२०७८, २२ चैत्र मंगलवार १०:२८

विराटनगर: विराटनगर महानगरपालिकासहित मोरङका १७ वटै स्थानीय तहमा हुनसक्ने चुनावी तालमेल र सम्भावित परिणामबारे राजनीतिक वृत्तमा बढेको सरगर्मीले श्रीराम यादव (५५) लाई छोएको छैन । विराटनगर–१४ जतुवाका श्रीराम खेतीपाती भन्दा पर सोच्न पनि चाहँदैनन् । ‘पार्टी (राजनीतिक कार्यक्रम) मा पेट बाँधेर जानु ? नजाने भएपछि किन चासो राख्नू !’ उनको छोटो जवाफ छ, ‘जसलाई फाइदा हुन्छ, त्यो जान्छ ।’

विराटनगर महेन्द्र चोकबाट १५ मिनेट दक्षिण कटुप्पा चोक नजिकै घर भएका श्रीरामलाई राजनीतिक चासो कहिल्यै नभएको चाहिं होइन । उनी आफैं २०६३ सालको मधेश आन्दोलनका घाइते हुन् । ‘घर–घरको मान्छे थियौं । दाजुलाई गोली लागेपछि उठाउन जाँदा मलाई पनि लाग्यो’, श्रीरामले १५ वर्षअघिको मधेश आन्दोलन सम्झिए ।

श्रीरामको खुट्टामा गोली लागेकाले उपचार भयो । तर प्रहरीको गोली लागेका उनका दाजु सदानन्द यादवको ज्यान जोगिएन । अहिले कटुप्पा चोकमा मधेश आन्दोलनमा ज्यान गुमाएका राजकुमार कामतसँगै सदानन्दको सालिक उभिएको छ ।

दाजु गुमाउनु परेपछि श्रीराम पनि राजनीतिक कार्यक्रमहरूमा जान छाडे । ‘अस्ति बाढी गयो, खेती बर्बाद भयो । के भयो ? नोकरी कसले दिन्छ ?’ श्रीरामले अर्को प्रश्न गरे । दशैंलगत्तै परेको वर्षाका कारण खेतमा खोला पसेपछि जतुवाका किसानहरूले काटेको धानमा ठूलो क्षति पुगेको थियो । श्रीरामलाई त्यही काटेको धान जोगाउन नसकिएकोमा चिन्ता छ ।

जतुवाले देखे-भोगेका देश चलाउनेहरू

श्रीरामले मधेश आन्दोलनमा दाजु गुमाए, आफू घाइते भए । तर अहिले पनि उनलाई गुजाराकै चिन्ता छ । त्यही आन्दोलनबाट राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू भने पटक–पटक मन्त्री भए ।

अहिले पनि यही क्षेत्र (मोरङ–५ ख) बाट २०७४ को चुनाव जितेका जयराम यादव प्रदेश स्वास्थ्य मन्त्री छन् । मधेश आन्दोलनलगत्तै उनी २०६४ को उपनिर्वाचनमा पनि यही क्षेत्रबाट संविधानसभा सदस्य जितेका थिए ।

सुनसरीबाट समेत चुनाव जितेका उपेन्द्र यादवले एक निर्वाचन क्षेत्र छोड्नुपर्दा जतुवाका मतदाताले उपनिर्वाचनमा पनि मतदान गर्नु परेको थियो । मोरङमा मधेश आन्दोलनको नेतृत्व गर्ने यो क्षेत्र छोडेका उपेन्द्र यादव २०६५ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बने । त्यसयता धेरैपटक उपप्रधानमन्त्रीसहित मन्त्री भए । तर उपेन्द्रकै नेतृत्वमा चर्केको मधेश आन्दोलनमा दुई जनाले सहादत प्राप्त गरेको जतुवाको दुःख भने उस्तै छ ।

सात सय वर्ष पुरानो रैथाने दाबी गर्ने जयरामनारायण राजवंशी (५६) देश चलाउने नेता हुँदैमा मात्र सुख नपाइने रहेछ भन्ने निष्कर्षमा छन् । ‘हामी किसानको समस्या कसैले देख्दैन । सधैं मल, पानी र डुबानकै पीर छ’, उनी भन्छन् ।

बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, नागेन्द्रप्रसाद रिजाल, मदन भण्डारी, मनमोहन अधिकारीदेखि भरतमोहन अधिकारीसम्मको साइनो मोरङसँग जोडिएको छ ।

मदन र भरतमोहन बाहेक अरू नेता प्रधानमन्त्री बने । गिरिजाप्रसाद र सूर्यबहादुर त पाँच/पाँच पटक प्रधानमन्त्री भए । मदन भण्डारीको राजनीतिक उचाइ कम्युनिस्ट आन्दोलनमै अग्लो छ । भरतमोहन दोहोरिएरै अर्थमन्त्री बनेका थिए । अहिले पनि कांग्रेसभित्र एउटा समूहको नेतृत्व गर्ने डा. शेखर कोइराला मोरङकै हुन् । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने र मन्त्री भएकाहरूको संख्या सानोतिनो छैन ।

कांग्रेस नेता शैलजा आचार्यले जतुवा क्षेत्रबाटै चुनाव जितिन्, मन्त्री बनिन् । अरू नेताको तुलनामा शैलजालाई हेर्ने दृष्टिकोण चाहिं थोरै फरक रहेछ । कांग्रेसकै नेतृत्व गर्ने सम्भावना भए पनि पछिपरेकी शैलजालाई सम्झनुपर्ने कारण हो– सिंगिया खोलाको पुल । अर्थात् त्यो पुल बन्नु नै जतुवाका नागरिकले पाएको सबैभन्दा ठूलो खुसी थियो ।

ठाकुर, राजवंशी, साहु, कामतलगायत यहाँका रैथानेलाई सिंगिया खोलाको पुलले जति खुसी दियो, त्योभन्दा बढी योगदान अरू नेताबाट नपाएको गुनासो स्थानीयमा छ ।

हरेक नेतासँग उनीहरूको माग साझा र पुरानै हो, किसानलाई राहत । तर बर्सेनि डुबान हुँदा नेताहरू आफैं किसानको समस्याबाट भाग्ने गरेको जागेश्वर साह (५८) बताउँछन् । ‘अस्ति पनि कोही नेता हाम्रो नष्ट भएको धान हेर्न आएनन् । राहत केही पाएनौं’, उनी भन्छन् ।

आफ्नै जग्गा नहुनेको पीडा अझ बढी चर्को छ । त्यस्तै पीडा खेप्ने मध्येमा पर्छन्, जागेश्वर पनि । उनी १६ कट्ठा जमिनमा खेतीपाती गर्छन् । तर, त्यो उनको आफ्नै जमिन होइन ।

‘अनुदान पाउन पनि आफ्नै जमिन चाहिने रहेछ । भाडामा खेती लगाउनेलाई भएको पनि गुमाउने हो’, उनी भन्छन् । बेलामा मल नपाएपछि खेतीबाट गुजारा चलाउन समेत नसक्ने अवस्था हुँदा कतिपयले भाडामा जमिन लिनै छोडेका छन् ।

‘युरिया र डीएपी मल पाउनै सकिन्न । मल नपाएपछि मकै खेती नै गर्न छोडें’, जागेश्वर भन्छन् । हुन पनि गएको वर्ष ३५०० रुपैयाँमा प्रति बिघा खेत जोतेको ट्रयाक्टरले यसपटक ५ हजार रुपैयाँ लियो । तर उत्पादित उपजको मूल्य भने बढेन ।

अघिल्लो वर्ष २७०० रुपैयाँमा बिक्री हुने गहुँको मूल्य यसपटक तीन हजार पुगेको छ । लाभ नहुने भएपछि नयाँ पुस्ताको कृषिप्रति आकर्षण नै देखिन छोडेको जागेश्वर बताउँछन् । ‘दिनरात जोतिंदा पनि म आफैंलाई खेतीबाट घर चलाउन गाह्रो छ । सरकारले किसानलाई केही सहयोग गरे पो नेताहरूको कुरा सुन्नु’, उनी भन्छन् ।

भगवान भरोसा

देश चलाउने नेताहरू जिताएर पठाए पनि कालोपत्रे सडक समेत नपुगेको जतुवाका नागरिकलाई नेताहरूले फकाउन भने थालिसकेका छन् । मुसलमान, पासवान र मेतहरको यो बस्तीमा अरू बेला नेताहरू बोलाउँदा पनि पुग्दैनन् । तर केही दिन अगाडि मात्रै कांग्रेसका स्थानीय नेता प्रदीप यादव त्यो बस्तीमा पुगे । ‘हामीसँग भोट छ । भोट भएपछि त माग्न आइहाल्छन् नि’, चन्द्रकला मेतहर (६६) भन्छिन् ।

चन्द्रकलाले पाँच वर्ष पहिलेको पुरानै माग सुनाइन् । महानगरभित्रै पर्ने यो बस्तीले गएको निर्वाचनमा बाटो ग्राबेल गरिदिन र नाला बनाइदिन माग राखेका थिए । हुन त उनीहरूसँग राख्ने माग अनेक थिए । तर नाला नबन्दा वर्षायाममा उनीहरूको घर डुब्छ । त्यसैले डुबानबाट बच्ने माग प्राथमिकतामा थियो ।

तर स्थानीय सरकारको पाँचवर्षे कार्यकाल पूरा हुँदा पनि उनीहरूको माग पूरा भएन । चन्द्रकला आफैंलाई भने राजनीतिप्रति कहिल्यै पनि ठूलो आशा भएन । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाकै घरमा सरसफाइ मजदुर भएर जीवनको उर्बर समय सकेकी चन्द्रकलालाई बरु भगवानप्रति विश्वास छ । ‘भगवानले बचाउनुभयो (उनको श्रीमान दमको रोगी छन्), बाँच्न पाए भइगयो’, उनी भन्छन् ।

३५ वर्ष बढी सरसफाइ मजदुरको जिन्दगी बिताएकी चन्द्रकलासँग ५ धुर जग्गामा घर बनाइनु नै सम्पत्ति हो । ‘गर्ने कि हामीले हो, कि भगवानले’ चन्द्रकला भन्छिन्, ‘हरेक सोमबार नागको पूजा गर्छौं, एउटा कोठा भगवानको हो ।’ एकतले झाप्रोमध्ये एउटा कोठामा मन्दिर राखेकी छन् । सर्पसँग बच्ने आशामा घरमा नागको पूजा गर्ने गरेकी रहिछन् ।

स्थानीय जगनारायण यादव (६६) जतुवा भगवान भरोसामा बाँचेको बताउँछन् । ‘कसैले खेतीपाती गर्छौं, कसैले मजदुरी गर्छौं । यहाँ त हामी भगवान भरोसामा बाँच्छौं’, जगनारायण भन्छन् ।

कांग्रेस, एमाले, माओवादी हुँदै मधेश आन्दोलनपछि पनि जतुवालाई फेर्न नेताहरूले ध्यान नदिएको जगनारायणको गुनासो छ । तर राजनीतिकै कारण बिग्रिएको मधेशी र पहाडी मूलबीचको झगडा साम्य हुँदै गएकोमा भने जतुवावासीमा केही खुसी देखिन्छ ।

‘मेयर छन् कांग्रेसका भीम पराजुली, हाम्रो वडा कमिश्नर (वडा अध्यक्ष) छन् जसपाका बलदेव यादव । दुई जनाको सम्बन्ध बाउ–छोरा जस्तो छ’ जगनारायण भन्छन्, ‘हामीलाई भने मधेशिया र पहाडियाको नारा लगाउँछन्, यो कुन नारा हो ? जनतालाई मार्ने नारा होइन ?’

वडाध्यक्ष बलदेवलाई कमिश्नर बाहेक मुखिया भनेर पनि स्थानीय सम्बोधन गर्छन् । अर्थात् उनी पुराना नेता हुन् । कांग्रेसको राजनीतिबाट स्थानीय चुनाव जित्दै आएका उनले गएको २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट वडाध्यक्ष जितेका थिए ।

अर्थात् बलदेव पार्टी फेरेर वडाध्यक्ष भए । ‘म २५ वर्ष अघि आउँदा यहाँका नागरिकले पेटभरी खान नपाएको भेटेथें । अहिले भोक मेटेका छन् । विकास त त्यो बेला जस्तो थियो अहिले पनि त्यस्तै छ’, २५ वर्षदेखि जतुवास्थित गुरुकुल माध्यमिक विद्यालयमा पढाइरहेका शिक्षक हरि ढुङ्गाना भन्छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु